अन्तर्राष्ट्रिय

इथोपियामा बढ्दो मानवीय संकटबारे संयुक्त राष्ट्रसंघको गम्भीर चिन्ता

By खबरहब

October 02, 2021

एजेन्सी- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथोपियामा गहिरिदो मानवीय संकट र भोकमरीबारे गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

शुक्रबार इथोपियाले संयुक्त राष्ट्रसंघका सात जना अधिकारीहरूलाई निष्काशन गर्दै द्वन्द्वग्रस्त टिग्रेइ क्षेत्रमा मानयीय सहयोग पुर्‍याउन प्रतिबन्ध लगाएपछि महासचिव गुटेरेसले इथोपियालाई यस्तो निर्णय लिने अधिकार नभएको प्रष्ट पारेका छन् ।

गुटेरेसले समयमै त्यहाँको मानवीय संकट समाधान नभए स्थिति नियन्त्रण बाहिर जानसक्ने टिप्पणी गरेका छन् । सरकारले टिग्रेइ क्षेत्रमा खाद्यान्न, इन्धन र अन्य अत्यावश्यकीय वस्तुको आपूर्तिमा करिब-करिब बन्देज लगाए सँगै यस क्षेत्रमा मानव अधिकार र आधारभूत मानवीय आवश्यकता परिपूर्तिमा समेत गम्भीर असर परिरहेको छ र बालबालिकाहरू भोकमरीको शिकार हुनसक्ने स्थिति नजिकिंदै छ ।

महासचिव गुटेरेसका अनुसार यस क्षेत्रका ५२ लाख जनता मानवीय सहायताको तीव्र पर्खाइमा छन् र ४ लाख जनता प्रायः भोकमरीको अवस्थामा  तड्पिएका छन् । अहिले यहाँका बालबालिकाहरूको कुपोषणको अवस्था  २०११ मा  सोमालियाका बालबालिका जस्तै देखिएको छ ।

शुक्रबार इथोपियाले देशको आन्तरिक मामिलामा दखल पुर्याएको आरोप लगाउँदै संयुक्त राष्ट्रसंघका ७ जना अधिकारीहरूलाई ७२ घण्टाभित्र देश छाड्न आदेश दिएको छ ।

इथोपियाको परराष्ट्र मन्त्रालयले ती अधिकारीहरूले कूटनीतिक मर्यादा विपरीत कार्य गरेको र निष्पक्षता कायम राख्न नसकेको र द्वन्द्वरत पक्षलाई सहयोग गरेको समेत आरोप लगाएको छ ।