फाइल फोटो

राजनीति

कम्युनिस्ट-मधेसवादी मिले पनि बहुमत ल्याउँछौँ : थापा (भिडियोसहित)

By खबरहब

October 02, 2021

काठमाडौँ- नेपाली काँग्रेसका नेता गगन थापाले जनतासँग गरिएका भरोसा पूरा गर्न सक्ने नेतृत्व पार्टीमा आवश्यक भएको बताएका छन् ।

काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा थापाले १४औँ महाधिवेशनमा केन्द्रदेखि वडासम्म जनतासँग गरिएका बाचाँ पूरा गर्न सक्ने आशा र भरोसा दिलाउन सक्ने नेता चाहिएको बताएका हुन् ।

काँग्रेसले यथास्थितीमा जनताको विश्वास जित्न नसक्ने बताउँदै थापाले भने, ‘हामीलाई जनताको झुपडीमा गएर बोलेको कुरामा भरोसा दिलाउने काँग्रेस चाहिएको छ ।’

जनताको भरोसायोग्य कांग्रेसका लागि सही नेतृत्व चयन गर्न जरूरी रहेकाले वडा तहबाटै पार्टीभित्र सुदृढीकरण र सुधारको खाँचो रहेको उनले बताए ।

आगामी तीन तहको निर्वाचनबाट कांग्रेस ठूलो दल बन्ने दाबी गरेका थापाले भने,’काँग्रेसले कसैसँग मिलेर होइन एक्लै लडेर अबको चुनाव जित्ने हो । कम्युनिस्ट, मधेसवादी मिले पनि कांग्रेसले जित्ने गरी काम गर्नुपर्छ ।’

काठमाडौँका ११ वटा नगरपालिका मध्ये १० वटामा शनिबार नगर अधिवेशन आयोजना गरिएको छ । दक्षिणकाली नगरपालिकामा भने वडाको अधिवेशन नै बाँकी रहेकाले अधिवेशन भएको छैन । काठमाडौं महानगरमा २० हजारभन्दा बढी क्रियाशील सदस्य छन् ।

हेर्नुहोस् भिडियो