बलिउड/हलिउड

थियटर हुँदै फिल्ममा ‘बादशाह’ बनेका शाहरुख

By खबरहब

November 02, 2021

काठमाडौँ– बलिउडस्टार शाहरुख खानको आज नोभेम्बर २ मा जन्मोत्सव परेको छ । आजबाट ५५ औँ वर्षमा प्रवेश गरेका शाहरुखले अघिल्लो वर्ष यूनाइटेड अरब इमिरेट्स (यूएई) को टावर बुर्ज खालिफाले ‘बर्थडे’ सेलिब्रेट गरेका थिए ।

गत महिना मात्र उनका छोरा आर्यन खान ड्रग्स केसमा पक्राउ परेका थिए । अक्टोबर २ मा जेल परेका आर्यनलाई मुम्बई स्थित हाइ कोर्टले जमानत दिएको थियो । उनी अक्टोबर ३० मा घर फर्किएका थिए । आर्यन जेलमा रहदा शाहरुखले बर्थ डेको विषयमा मनाउने वा नमनाउने केहि बोलेका थिएनन् । यतिबेला आर्यन घर फर्किसकेका छन् । तर , उनको मुद्दा अझै अदालतमा छ । उनको बर्थ डेमा हामी आज उनको स्ट्रगलको चर्चा गर्दैछौँ ।

बलिउडमा शाहरुखलाई ‘रोमान्स किङ’ को ट्याग दिइएको छ । किनकि उनले अधिकांश फिल्म रोमान्टिक ड्रामा गरेका छन् । पछिल्लो केही वर्ष यता बलिउडमा सफलता पाउन नसकेका शाहरुखले आफ्नै दममा आफ्नो स्टारडम पाएका हुन् । फिल्म ‘जिरो’ पछि पर्दामा नदेखिएका शाहरुख लगातार फिल्म फ्लप हुन् थालेपछि केही समय विश्राम लिएर पठानमा काम गरिरहेका छन् । पठानसँगै उनले टाइगरको नयाँ फ़्रेञ्चाइजमा समेत केमियो गर्दैछन् । यशराज फिल्म्सले ‘स्पाइ युनिभर्स’ बनाउने तयारी अनुसार यस्तो गरिरहेको छ । पछिल्लो समय सफलताको ‘ट्रयाक’ मा हिड्ने तयारी गरिरहेका शाहरुखको ‘बर्थ डे’ मा हामी उनको चर्चा गर्दैछौँ ।

बाल्यकाल

शाहरुखको नाम अब्दुल रहमान राखिएको थियो । यो नाम उनलाई उनको हजुर आमाले दिएकी हुन् । तर , उनका पिताले छोरीको नाम लाला रुख राखेपछि छोराको नाम शाहरुख राखेका हुन् । शाहरुखलाई हजुरआमाले दिएको नाम भने कतै रजिस्टर भएन । उनले बाल्यकालको केही समय मामाघरमा हजुर आमासँग बिताएका थिए । त्यसैले उनलाई यो नाम दिइएको थियो । यसैगरी उनलाई बाल्यकालमा स्पोर्ट्स एकदमै मन पर्थ्यो । उनी आर्मी स्कुलमा भर्ना पनि भएका थिए । तर , उनको आमाले झन्डै एक महिनापछि शाहरुखलाई फिर्ता बोलाइन् । त्यसपछि उनी घरमै रहेर पढ्न थाले ।

एनएसडीमा बाल्यकाल

शाहरुख खानका पिता इण्डियन फ्रिडम फाइटर मध्येका एक थिए । उनले थुप्रै काम गरे , तर कतै टिकेनन् । उनले एकपछि अर्को काम परिवर्तन गर्दै अगाडि बढे । यसैक्रममा उनले नेशनल स्कुल अफ ड्रामा (एनएसडी) मा क्यान्टिन चलाउथे । बाल्यकालमा शाहरुख सेन्ट कोलम्बस स्कुलमा पढ्थे र उनकी बहिनी मोडर्न स्कुलमा पढथिन् ।

उनको स्कुल १२ बजेको आसपासमा छुट्थ्यो तर बहिनीको ४ बजे । त्यसैले शाहरुख त्यो समयमा एनएसडी जान्थे , जहाँ उनको पिताले क्यान्टिन चलाउथे । त्यसैक्रममा उनले रोहिणी हतनगढी , राजेश सुवेक , सुरेखा सिकरी , राज बब्बर , रघुवीर यादव लगायतका दिग्गज कलाकारसँग नजिक हुने अवसर पाए । बच्चा भएकाले उनलाई सबैले माया गर्थे ।

उनीहरुले शाहरुखलाई आफ्नो प्राक्टिसमा राख्थे र प्ले पनि देखाउथे । त्यहीबाट शाहरुखमा अभिनयको जादु सुरु भयो । ‘मैले बाल्यकाल लगभग उहाँहरुसँग विताए । सायद त्यहिँबाट अभिनयले म भित्र स्थान पायो किनकी मैले त्यो समयको हिट प्ले सबै हेरेको थिए भने दिग्गज कलाकारसँग निकै नजिक थिए’ शाहरुखले भने । उनका पिताले त्यहाँ सन् १९७४ बाट क्यान्टिन चलाउन छाडे ।

माता पिताको देहान्त

शाहरुखले बाल्यकाल देखि नै स्ट्रगल गरे । एनएसडीमा हुर्किए पनि उनको कलाकारिताले फिल्मसम्म आउन केही समय लाग्यो । यसबीचमा उनले आफ्नो माता पितालाई गुमाए । सन् १९८१ मा शाहरुखको पिताको देहान्त भयो । त्यस बेला शाहरुख १५ वर्षका थिए । उनको पितालाई क्यान्सर भएको थियो । ‘लगभग ८ महिना उपचाररत थिए र उनलाई ठिक भयो भनेर अस्पतालबाट घर ल्याएका थियौ । घर आइसकेपछि उनले आइसक्रिम मागे र खाए । हामीलाई झन् लाग्यो उनी, अब ठिक भए तर त्यो रात उनको अन्तिम रात रहेछ’ शाहरुखले भने ।

पिताले आइसक्रिम खाएपछि उनी सुत्न गए । बिहानी पख कसैले उनलाई उठाएर पिता अस्पतालमा रहेको जानकारी दियो । उनी अस्पताल पुग्दा पिताले संसार छाडिसकेका थिए । उनले अनुहार पनि हेर्न सकेनन् , खुट्टा देखे र त्यसलाई छोए जुन चिसो भइसकेको थियो । त्यसको १० वर्षपछि उनको आमाको पनि मृत्यु भयो ।

उनको आमालाई खुट्टामा समस्या भएपछि अस्पताल लागिएको थियो । त्यसबेला अस्पतालमा डायबिटिज रहेको भनियो तर त्यसको डेढ महिनाको अन्तरालमा शाहरुखकी आमाले संसार छाडिन् । आइसीयुमा रहेकी आमाको स्वास्थ्य बिग्रिदै गएपछि शाहरुख हस्पिटल तल आएर भगवानसँग प्राथना गरिरहेका थिए । उनलाई कसैले भनेको थियो ,’तिमी प्राथना गर , तिम्रो आमालाई शक्ति मिल्नेछ ।’ तात्कालीन समयमा आइसीयुमा प्रवेश नपाइने भएकोले शाहरुख हस्पिटलकै पार्किङमा प्राथना गरिरहेका थिए ।

‘म भगवानसँग आमाको जिन्दगी मागिरहेको थिए किनकि प्राथना गरुन्जेल आमाको स्वस्थ्य विग्रिदैन भन्ने मलाइ लाग्थ्यो । बहिनि बोलाउन आए तर म गइन् पछि डाक्टरले तिमी आइसीयुमा आउ भनेपछि आमालाई भेट्न गए, उनको त्यो अन्तिम समय थियो’ शाहरुखले भने । त्यो उमेरमा उनलाई लाग्थ्यो कि मान्छे तब संसार छाड्छ जब उ ढुक्क हुन्छ । उसलाई लाग्छ उसको परिवार ठिक छ , अब म नहुदा पनि यहाँ चल्छ भन्ने लागेपछि मान्छेले संसार छाड्छ । त्यसैले उनले आमालाई भने ,’यदि तपाइँले छाडेर जानु भयो भने म बहिनिहरु ख्याल राख्दिन , स्पोर्ट्स खेल्दिन र पढ्दिन ।’ तर , यी सब कुरा गर्दा गर्दै उनकी आमाले संसार छाडिन् । ‘सायद , उनलाई विश्वास थियो कि म मेरो परिवाको ख्याल राख्छु र आफ्नो काम गर्न लायक भएको छु । त्यसैले उनले त्यहिँ समयलाई रोजिन र संसार छाडिन्’ शाहरुखले भने ।

टिभी हुँदै फिल्ममा

शाहरुखलाई पर्दामा चिनाउने श्रेय जान्छ ‘फौजी’ नामक टिभी सिरियललाई । तर , उनले पहिलो काम ब्यारी जोनको प्लेमा गरेका थिए । त्यहाँ ८० केटी र १० केटा चाहिएको थियो । स्पोर्ट्स गरिरहेका शाहरुखलाई चोट लागेपछि उनी साँझको समयमा खाली भए । उनले त्यही क्रममा अडिसन दिए र सेलेक्ट भए । प्ले मा उनले ‘प्रिन्सिपल डान्सर’ को रोल पाए । प्लेमा उनलाई एउटा डायलग दिइएको थियो ,’आइ ह्याभ लेटर फर यु. एनी ।’ त्यसपछि उनले करण कपूरको सिरियल ‘फौजी’ मा काम गरेका थिए ।

‘थियटरको प्लेपछि करण सरको सिरियलमा काम गर्ने अवसर मिल्यो । उनको छोराले गर्ने भनिएको रोल नगरेपछि मलाइ अवसर मिलेको हो’ शाहरुखले पुराना दिन सम्झीए । फौजी टिभी सिरियल हिट भएसँगै शाहरुख चिनिन थाले तर उनलाई अभिनयको सौख थिएन । उनी एड फिल्म बनाउन चाहन्थे । त्यो समयमा उनलाई ह्यारी बबेजा र हेमा मालिनीको फोन आएको थियो । तर , उनी काम गर्न गएका थिएनन् । किनकी उनी दिल्लीमा थिए र काम मुम्बईमा थियो । त्यसको ३/४ महिनापछि उनको आमाको देहान्त भयो । त्यसपछि उनले आफ्नो एक्लोपनलाई कामबाट भुलाउन थाले ।

आमा नरहेपछि उनी ‘वाग्ले कि दुनिया’ नामक सिरियलमा काम गर्न मुम्बई पुगेका थिए । उनी एक वर्षको लागि मुम्बई पुगेका थिए र त्यहाँ पुग्दा उनीसँग फर्किने पैसा थिएन । उनी सिरियल कम्पनिकै अफिसमा बस्थे । एकदिन अचानक उनलाई भेट्न विवेक वास्वानी आए । उनले जीपी शिपीको फिल्म छ, काम गर भने । ‘त्यो बेला मैले म टिभी मै ठिक छु भनेको थिए । तर , भोलिपल्ट म बसेकै अफिसमा आएर विवेकजीले मलाई सिपि सरको अफिसमा लगे’ शाहरुखले भने । त्यो दिन उनले ५ फिल्म साइन गरेका थिए । उनले हेमा मालिनीलाई भेटे साथै राकेश रोशनको ‘किङ अंकल’ , हेमाकै सिफारिसमा ‘दिवाना’ सहित एकै दिनमा ५ फिल्ममा अनुबन्धित भएका थिए ।

पठानबाट कमब्याकको तयारी

शाहरुख खानले जिरोको असफलतापछि काम गरिरहेको फिल्म हो ,’पठान’ । सिद्धार्थ आनन्दको निर्देशनमा तयार भइरहेको फिल्म स्पाइको कथामा छ । फिल्ममा दीपिका पादुकोण र जोन अब्राहम पनि छन् । यशराज फिल्म्सले यसलाई ठूलो लगानीमा तयार गरिरहेको छ । साथै , यसमा सलमान खानलाई टाइगरकै रुपमा केमियो गराइनेछ । शाहरुखले केही समयको विश्रामपछि फिल्म गर्ने निर्णय गरेका हुन् । उनले एक्सन जनरको फिल्मलाई सिद्धार्थले न्याय गर्ने अपेक्षाले फिल्म गरेका हुन् । यो फिल्मले उनलाई दर्शक माँझ पहिलेकै रुपमा स्थापित गर्ने सोचाइ यशराज फिल्म्सको पनि छ । शाहरुखलाई दिलवाले दुल्हनिया ले जाएंगे , मोह्बत्ते जस्ता फिल्म मार्फत यशराज फिल्म्सले नै स्थापित गरेका थिए ।

(शाहरुखले दिएको एक टेलिभिजन अन्तर्वार्ताको सहयोगमा तयार पारिएको सामग्री ) तस्बिर : एजेन्सी