समाचार

प्रधानन्यायाधीश-न्यायाधीश वार्तामा सहभागी हुन पाउनुपर्ने सर्वोच्च बारको माग

By खबरहब

November 02, 2021

काठमाडौँ- सर्वोच्च बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश र न्यायाधीशबीच भएको वार्तामा बारका प्रतिनिधिलाई पनि सहभागी गराउन माग गरेका छन् ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बारले जारी राखेको आन्दोलनमा बोल्दै वरिष्ठ अधिवक्तासमेत रहेका अध्यक्ष शाक्यले वार्ताको नाममा प्रधानन्यायाधीश राजीनामाबाट भाग्न खोजेको भन्दै बारको उपस्थितिमा मात्र वार्ता गर्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् ।

१९ जना न्यायाधीशका तर्फबाट गठित वार्तासमितिले बारलाई सहभागी नगराई प्रधानन्यायाधीशसँग गर्ने छलफलमा बारको बिमति हुने उनले बताए ।

नेपाल बार एसोसिएसनकी पूर्वउपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता सविता भण्डारीले प्रधानन्यायाधीशले भ्रष्टाचारका साथै न्यायीक विचलन गरेको भन्दै राजीनामा दिन आग्रह गरिन् ।

उनले न्यायिक नेतृत्वको राजीनामा नआएसम्म आन्दोलन नरोकिनेसमेत बताइन् । बार एसोसिएसनलाई बाहिर राखेर गरिने कुनैखाले सहमतिमा पनि कानुन व्यवसायीहरूलाइ सह्य नहुने भण्डारीले चेतावनी दिइन् । बारको आन्दोलनमा प्राध्यापक संघबाहेक अरु कसैले पनि ऐक्यबद्धता नजनाएको भन्दै उनले आपत्ति जनाइन् ।