देश/प्रदेश

२१ सांसदको समर्थनमा जीवनबहादुर शाहीले पेश गरे सरकार बनाउने दाबी

By खबरहब

November 02, 2021

काठमाडौँ– कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेश गरेका छन् । प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले मंगलबार साँझ साढे ७ बजेसम्म दाबी पेश गर्न समय दिएका थिए ।

शाहीले मंगलबार २१ सांसदको समर्थनमा दाबी पेश गरेका हुन् । कांग्रेसका ६, माओवादी केन्द्रका १३ र नेकपा (एकीकृत) समाजवादीका ३ सांसदको उनलाई समर्थन रहेको छ । कर्णाली प्रदेश सभा ४० सदस्यीय भए पनि ५ पद रिक्त भएकाले हाल ३५ जनामात्र सांसद छन् ।

माओवादी नेता महेन्द्रबहादुर शाहीले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले गत वैशाखमा कांग्रेससँग भएको सहमति अनुसार कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न राजीनामा दिएका थिए ।

शाहीले बहुमत सांसदको समर्थनमा दाबी पेश गरेकाले उनलाई मंगलबारै शपथ गराउने प्रदेश प्रमुखको कार्यालयको तयारी छ । मंगलबार बेलुका ८ बजेपछि शाहीले शपथ ग्रहण गर्ने जनाइएको छ ।

शाही मुख्यमन्त्री बनेपछि देशका ७ मध्ये २ प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बन्ने छ । यसअघि गण्डकीमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका छन् । कांग्रेस सातै प्रदेशको सरकारमा सहभागी छ ।