राजनीति

चीनबाट फर्काइएका विद्यार्थीको समस्या समाधान गर्न ७ विद्यार्थी संगठनको माग

By खबरहब

November 02, 2021

काठमाडौँ– विभिन्न सात बिद्यार्थी संगठनहरुले कोभिड–१९ महामारीका कारण चीन लगाएतका देशबाट स्वदेश फर्किएका विद्यार्थीलाई फेरि सोही स्थानमा नै गएर पढ्ने वातावरण मिलाउन सरकारसँग माग गरेका छन् ।

नेविसंघ , अखिल क्रान्तिकारी, माधव नेपाल निकट अनेरास्ववियुलगायतका संगठनले मंगलबार परराष्ट्रमन्त्री नारायण खड्कालाई ज्ञापन बुझाउदै कोरोनाका कारण सयौं संख्याका विद्यार्थी अलपत्र भएको र अव पुनः चीनलगायतका अन्य देशमा गएर अध्ययन गर्ने वातावरण मिलाउन माग गरेका हुन् । पुनः चीनलगायतका देशमा फर्किएर अध्ययन गर्ने वातावरण नबन्दा विद्यार्थीहरूको शैक्षिक भविष्य अन्योलमा परेको भन्दै यसका लागि पहल गर्न उनीहरूले आग्रह गरेका छन् ।

ज्ञापन पत्र बुझाउदै अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले उच्च शिक्षा अध्ययनका लागि अभिभावकले गरेको करौडौँ लगानी खेर जाने अवस्था रहेको र विद्यार्थीको भविष्य पनि अन्योलमा रहेको भन्दै कुटनीतिक पहलमार्फत विद्यार्थी पठाउने व्यवस्था गर्न आग्रह गरिन् ।

ज्ञापन पत्र बुझ्दै मन्त्री खड्काले सम्बन्धित निकायमा यस बिषयमा छलफल सुरु गरिसकेको भन्दै अन्य पहल गर्ने आश्वासन दिए । उनले यस विषयमा आफू गम्भिर रहेको बताए ।

विद्यार्थी संगठनहरुले प्राविधिक बिषयहरुको अध्ययन अनलाइनबाट सम्भव नहुने भएकाले विद्यार्थीहरुको गुनासो छिटो भन्दा छिटो सम्बोधन गर्न मन्त्री खड्काको ध्यानाकर्षण गराएका छन् ।