काठमाडौँ- प्राकृतिक विपदमा परेर गत असार २४ गते घोराही–१७ क्वाडीमा अविरल वर्षाका कारण मनिषा चौघरीको घर भत्किँदा उनकी तीन महिनाकी छोरीको घटनास्थलमै मृत्यु भयो । सो घटनामा मनिषा र उनकी अर्की छोरी घाइते भइन् ।
असार ९ गते लमही नगरपालिका–३ फलकापुरका ३० वर्षीय मणिराम चौधरीको स्थानीय खहरे खोलाले बगाएर मृत्यु भयो । खेतमा काम गरेर घर फर्कंदै गर्दा चौधरीलाई खोलाले बगाएको थियो । यो त उदाहरण मात्रै हो जिल्लामा विपद्मा गरेर ज्यान गुमाउनेहरु धेरै छन् ।
यही भदौ १७ गते नेपालगञ्जबाट घोराही आउँदै गरेको प्रदेश ३–०१–२४ च ४४४० नं को कार घोराही–४ सिस्ने खोलामा आएको बाढीले बगाउँदा गाडीमा सवार चार महिलाको मृत्यु भएको थियो । चालक भने घाइते अवस्थामा फेला परेका थिए ।
दाङमा चालु आर्थिक वर्षको हालसम्म विभिन्न विपदमा घटनामा परी १३ जनाको मृत्यु भएको छ । विपदबाट करिब रु साढे तीन करोड बराबरको क्षति भएको जिल्ला आपत्कालीन कार्य सञ्चलन केन्द्रले जनाएको छ ।
केन्द्रका सूचना व्यवस्थापक अधिकृत विश्वप्रकाश अर्यालका अनुसार घर भत्किएर, खोला तथा नदीले बगाउँदा १२ जनाको मृत्यु भएको हो । एक जना अझै बेपत्ता रहेका छन् । त्यस्तै अविरल वर्षाका कारण २०५ वटा घर भत्किएका छन् ।
यसैगरी विपदबाट १०० भन्दा बढी पशुचौपाया मरेको अधिकृत अर्यालले जानकारी दिए । उनकाअनुसार हालसम्म घर भत्किएका परिवार तथा मृतकका परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिबाट रु ५२ लाख ७५ हजार राहत वितरण गरिएको छ ।
घर भत्किएका परिवारलाई रु १५ देखि २० हजार र मृतकका परिवारलाई रु दुई लाख राहत दिने गरिएको अर्यालले बताए । विपद्का कारण सबैभन्दा बढी घोराही उपमहानगरपालिकाका नागरिकले ज्यान गुमाएका छन् । त्यस्तै, तुलसीपुर, शान्तिनगर, बङ्गलाचुली, दङ्गीशरण, गढवा र लमही नगरपालिका नागरिकले ज्यान गुमाएका छन् ।
दाङमा गत आर्थिक वर्षमा विपद्का घटनामा परेर ४९ जनाको मृत्यु र २६ जना घाइते भएका थिए । तीमध्ये १४ महिला र ३५ पुरुष रहेको केन्द्रले जनाएको छ ।