प्रवास

मलेसियाको पेनाङ्गमा कन्सुलर सेवा सञ्चालन हुने

By खबरहब

November 03, 2021

दोहा– नेपाली कामदारको समस्यालाई मध्यनजर गर्दै मलेसियास्थित नेपाली दूतावासले त्यहाँको पेनाङ्ग राज्यमा कन्सुलर सेवा सञ्चालन गर्ने गर्ने भएको छ ।

दूतावासले मंगलबार एक सूचना जारी गर्दै मलेसियाका विभिन्न राज्यमा कार्यरत रहेका नेपालीहरुलाई दूतावासबाट प्रबाह गरिने सेवहरु सरल र सहज रुपमा उपलब्ध गराउने उदेश्यले कन्सुलर सेवा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ ।

नोभेम्बर १४ तारिख आइतबारका दिन बिहान १० देखि दिउँसो ३ बजेसम्म आईछोरा होटेल पेराई पेनाङमा कन्सुलर सेवा तथा अन्तर्क्रिया आयोजना हुने दूतावासले जारी गरेको विज्ञाप्तिमा उल्लेख गरिएको छ ।

कन्सुलर सेवा मार्फत राहदानी नविकरण गर्न सकिने तथा आवश्यक परेका नेपालीलाई नेपाल फर्किनलाई यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) बनाउन सकिने लगायत अन्य सेवाहरु उपलब्ध हुने दूतावासले जनाएको छ ।

सेवा लिन आउदा दूतावासले उपलब्ध गराएको फारममा आफ्नो विवरण भरेर मात्र आउन अनुरोध गरेको छ । मलेसिया नेपालजस्तै हावापानी र वातावरण भएको मुलुक हो । जहाँ करिब ५ लाखको हाराहारीमा नेपाली कामदार कार्यरत छन् ।