नयाँ दिल्ली– भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक भारतीय पूर्व क्रिकेट राहुल द्रविड नियुक्त भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बुधबार अबेर द्रविडलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको छ ।
आफू मुख्य प्रशिक्षक नियुक्त भएपछि द्रविडले यो आफ्ना लागि गर्वको विषय भएको बताएका छन् । उनले रवी शास्त्रीको प्रशिक्षणमा टिमले महत्वपूर्ण उपलब्ध प्राप्त गरेको भन्दै त्यसलाई आफूले अगाडि बढाउने बताएका छन् ।
यस्तै बीसीसीआईका अध्यक्ष सौरभ गाँगुलीले द्रविडलाई स्वागत गर्दै उनी एक महान खेलाडी भएको बताएका छन् । खेलाडीका रुपमा महान द्रविडले प्रशिक्षणमा पनि राम्रो गर्ने उनले विश्वास व्यक्त गरेका छन् ।
द्रविड मुख्य प्रशिक्षक हुने यसअघि नै चर्चा थियो । तर, सुरुमा द्रविडले सो पद अस्वीकार गरेको बताइएको थियो । तर, उनले गत हप्ता मुख्य प्रक्षिकका लागि दरखास्त दिएका थिएपछि उनी नै नियुक्त हुने अनुमान थियो । हालका मुख्य प्रक्षिक रवी शास्त्रीको पदावधि जारी टी–ट्वान्टी विश्वकपपछि सकिँदैछ ।