फाइल फोटो

राजनीति

संसद् चल्न दिदैनौँ, राजनीति गतिरोधको निकास चुनाव नै हो  : ओली

By खबरहब

December 03, 2021

काठमाडौँ- एमाले अध्यक्ष केपी ओलीले देशमा देखिएको राजनीतिक गतिरोधको निकास ताजा जनादेशबाट मात्रै सम्भव भएको बताएका छन् ।

हालै चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित भएका ओलीले शुक्रबार पार्टी कार्यालयमा पुगेर पदबहाली गर्दै देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न अब ताजा जनादेशमा जानुको विकल्प नरहेको बताए ।

अदालतमा देखिएको अवस्था पाँचदलीय गठबन्धनको विसंगतिको प्रतिबिम्ब रहेको भन्दै उनले गलत फैसला गराएर अदालतको हुर्मत लिने काम गठबन्धनले गरेको आरोप लगाए । सरकारले देशको समय बर्बाद बनाइरहेको भन्दै अध्यक्ष ओलीले २८ मंसिरमा बोलाएको संसद् बैठक चल्न नसक्ने चेतावनी दिए ।

‘सभामुखले एमालेले निष्कासन गरेका नेतालाई संरक्षण गर्ने, एमाले फुटाउन लाग्ने, यस्ता कार्यले सभामुख निष्पक्ष हुन सकेनन्’, उनले, न्यायालय र संसदमा देखिएका समस्या समाधान गर्न सरकार लाग्नुपर्ने हो । तर, विपरीत दिशामा अघि बढेको छ ।’

यस्ता गतिविधिले देश चल्न नसक्ने भन्दै अध्यक्ष ओलीले अब ताजा जनादेशमा गएर देशलाई निकास दिनुपर्ने बताए । वर्तमान सरकारको छिटोभन्दा छिटो अन्त्य गर्नुपर्ने भन्दै उनले जनताले मुल्यांकन गरेर फैसला गर्ने बताए ।