राजनीति

भदौ २३ मा संघीय संसदको अधिवेशन बोलाउन सिफारिस

By खबरहब

September 04, 2021

काठमाडौँ– सरकारले भदौ २३ गते संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते बुधबार दिउँसो ४ बजे दुवै सदनको अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

संसद अधिवेशन बोलाउन अघि प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । शनिबार बिहान प्रधानमन्त्री देउवाले सभामुख अग्नि सापकोटासँग पनि छलफल गरेका थिए ।

सरकारले हालै राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएका छन् । सरकारले अब सो अध्यादेश निष्क्रिय पार्ने तयारी गरिरहेको छ ।

यही भदौ २२ गतेसम्म नवगठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी रोज्न एमाले र जसपाबाट निर्वाचित जनप्रतिनिधिलाई समय दिइएको छ । सो समयपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका प्रधानमन्त्री देउवाले अध्यादेश पनि निष्क्रिय पार्ने तयारी गरेका छन् ।