काठमाडौँ– कोभिड–१९ को महामारीका कारण गत दुई वर्ष व्यवसायका धेरै क्षेत्रमा असर पर्यो । यो समयमा एयरलाइन्सको कारोबार पनि ह्वात्तै घट्यो । यस अवधिमा उडानहरू घटे । कोभिडको कालखण्डमा निरन्तर सेवा दिनु कठिन थियो ।
अति जरुरी कामले यात्रा गर्नु त थियो नै, औषधि र अन्य स्वास्थ्य सामग्री ओसारपसार गर्नु झन् जरुरी थियो । यात्राका क्रममा स्वास्थ्य सुरक्षाको चुनौती थियो ।
सबै कठिनाइका बीच एयरलाइन्स कम्पनीहरूले सेवा दिइरहे । उत्कृष्ट सेवा कसले दियो भन्ने मापनका धेरै आधारहरू हुन सक्छन् ।
खास मापदण्हरूका आधारमा स्काइट्र्याक्सले उत्कृष्ट एयरलाइन्स चयन गरेको छ । यात्रुहरूको अनलाइन सर्भेको आधारमा स्काइट्र्याक्सले कतार एयरवेजलाई उत्कृष्ट घोषित गर्दै ‘विश्व एयरलाइन्स अवार्ड’ का लागि छनौट गरेको छ ।
सन् २०१९ सेप्टेम्बरदेखि २०२१ जुलाईसम्मको समय सीमा तोकेर यो छनोट गरिएको हो ।
एयरलाइन्सले दिने विश्वव्यापी सुविधाका आधारमा यात्रुले मत व्यक्त गरेका थिए । स्काइट्र्याक्सको यो सर्वेक्षणमा सिङ्गापुर एयरलाइन्स दोस्रो र एएनए (अल निप्पोन एयरवेज) तेस्रो ठहरिए ।
उक्त अवार्ड कतार एयरवेजले छैटौँ पटक जितेको हो । यस पटक विश्वको उत्कृष्ट बिजनेस क्लास, मध्यपूर्वको उत्कृष्ट एयरलाइन्स, विश्वको उत्कृष्ट बिजनेस क्लास लन्ज, उत्कृष्ट बिजनेस क्लास अन बोर्ड क्याटरिङको अवार्ड कतार एयरवेजले जितेको छ ।
स्काइट्र्याक्सका कार्यकारी प्रमुख एडवार्ड प्लेइसटेडले कतार एयरवेजले सामान्य समयमा र महामारीको समयमा पनि ग्राहकलाई उत्कृष्ट सेवा दिएको बताएका छन् ।
यो महामारीको समय साँच्चै कठिन थियो । धेरै एयरलाइन्सले उडान संख्या धेरै घटाएका थिए तर कतार एयरवेजले उडान धेरै घटाएन । कतार एयरवेजका प्रमुख कार्यकारी अधिकृत अकबर अल बाकरले महामारीको समयमा धेरै जना घर फर्कने चाहने भएकाले तीनलाई अवरोध नपुगोस् भनेर आफूहरू सचेत रहेको र सुरक्षा मापदण्डमा ध्यान दिएर सेवा दिएको जनाएका छन् ।
दोस्रो स्थानमा रहेको सिङ्गापुर एयरलाइन्स एसियाको उत्कृष्ट एयरलाइन्स चयन भएको छ । साथै उत्कृष्ट क्याबिन क्रु, उत्कृष्ट फस्ट क्लास, उत्कृष्ट फस्ट क्लास सिट, उत्कृष्ट इकोनोमी क्लास अन बोर्ड क्याटरिङको अवार्ड पनि पाएको छ ।
एएनएले विश्वकै सफा एयरलाइन्स क्याबिनको अवार्ड पाएको छ । विश्वको उत्कृष्ट एयरपोर्ट सर्भिस, एसियाको उत्कृष्ट एयरलाइन्स स्टाफ र एसियाको उत्कृष्ट फस्ट क्लास लन्जको उपाधि पनि एएनएले पाएको छ ।
सन् २०१९ र अहिलेको मतमा केही परिवर्तन भएको स्काइट्र्याक्सले जनाएको छ । सन् २०१९ को बरीयतामा निप्पोन एयरलाइन्स बाहिर रहेको थियो । यो वर्ष शीर्ष पाँचमा अटाएको छ ।
सन् २०१९ मा लुफ्थान्सा नवौँ स्थानमा र थाई एयरवेज दसौँ स्थानमा थिए । अहिले यात्रुले यी एयरलाइन्सलाई विगतको तुलनामा कम रुचाएको देखिएको छ । लुफ्थान्सा तेह्रौँ र थाई तेइसौँ स्थानमा छन् ।
स्काइट्र्याक्सको यो बरीयतामा एयर फ्रान्स युरोपको उत्कृष्ट एयरलाइन्स ठहर भएको छ । शीर्ष दशमा रहने युरोपेली एयरलाइन्समा फ्रान्सेली एयरलाइन्स मात्र रहेको छ ।
ब्रिटिस एयरवेज बरीयतामा एघारौँ स्थानमा छ । यो संयुक्त अधिराज्यको उत्कृष्ट एयरलाइन्स घोषित भयो । यसले युरोपको उत्कृष्ट एयरलाइन्स स्टाफको अवार्ड जित्यो, उत्कृष्ट प्रिमियम इकोनोमी अन बोर्ड क्याटरिङ पनि घोषित भयो ।
अमेरिकाको डेल्टा एयरलाइन्स उत्तर अमेरिकाको उत्कृष्ट एयरलाइन्स घोषित भयो । यसको प्रिमियम इकोनोमी क्लासको सिट उत्कृष्ट ठहर भएको छ । उत्तर अमेरिकाको उत्कृष्ट बिजनेस क्लास र उत्कृष्ट प्रिमियम इकोनोमी क्लास पनि घोषित भयो । यो एयरलाइन्स बरीयता क्रमको तीसौँ स्थानमा रहेको छ ।
उत्कृष्ट ठहर भएको कतार एयरवेजमा दुई वटा विमान रहेको जनाइएको छ । यसका जहाजहरू १५० वटा एयरपोर्टमा पुग्ने गरेका छन् । यो एयरलाइन्समा ४३ हजार कर्मचारी छन् । यसको कार्यालय कतारको दोहामा रहेको छ ।
कोभिड महामारीको समयमा कतार एयरवेजले अन्य केही एयरलाइन्सलाई पछि पा¥यो । सन् २०२१ मार्च ११ मा कतार एयरवेजले डिजिटल पासपोर्टको प्रणाली सुरु गरेको थियो । कतार एयरवेज यस्तो सुरुवात गर्ने मध्यपूर्वको पहिलो एयरलाइन्स थियो । यो समयमा दक्षिण एसियामा, खास गरेर भारतमा, संक्रमण उचाइमा थियो ।
मध्यपूर्व र दक्षिण एसियाको बीचमा सबैभन्दा धेरै उडान भर्ने कतार एयरवेज नै थियो । कतारबाट इस्तानबुल जाने यात्रुको हकमा पहिलो पटक डिजिटल पासपोर्टको प्रयोग भएको थियो ।
यसै गरी, कतार एयरवेजले पहिलो पटक पूरै कोभिड भ्याक्सिनबाट इम्युन यात्रु बोकेर कीर्तिमान बनाएको थियो । गत ६ अप्रिलमा कोभिडका कारण धेरै एयरलाइन्सले सुविधा नदिएको समयमा कतार एयरवेजले भ्याक्सिन लगाएका यात्रु बोकेको थियो । सबै कर्मचारी र चालक दलका सदस्यहरूले भ्याक्सिन लगाइसकेका थिए ।
अहिले प्रायः सबै एयरलाइन्सले भ्याक्सिन लगाउनेले मात्र यात्रा गर्न पाउने नियम बनाएका छन् । यसको सुरुवात भने कतार एयरवेजले नै गरेको थियो ।
महामारीकालमा औषधि र स्वास्थ्य सामग्री ओसारपसारमा पनि कतार एयरवेज अगाडि रह्यो । कतार सरकारले कोरोना नियन्त्रणमा कडाइ गर्न थालेपछि कतार एयरवेजले पनि यसमा चासो दिँदै आफ्ना कर्मचारीलाई रात्रिकालीन कर्फ्युअनुसार चल्न निर्देश गरेको थियो ।
एयरवेजका सबै कर्मचारी रातको समयमा कम्पनीले सुविधा स्वरूप दिएको आवासगृह या होटेलमा अनिवार्य पुग्नु पर्ने नियम राखेको थियो ।
स्काइट्र्याक्सको बरीयतामा यस पटक दोस्रो स्थानमा रहेको सिङ्गापुर एयरलाइन्स यसअघि चार पटक उत्कृष्ट ठहरिएको थियो । ट्राभल एन्ड लिजर म्यागेजिनले भने यसलाई लगातार २० वर्ष उत्कृष्ट एयरलाइन्सको रूपमा राखेको थियो ।
यसको सेवाको स्वरूप अन्यको भन्दा बढी विस्तारित छ । एआइए इन्जिनियरिङ कम्पनीले नौ वटा देशमा बिजनेस प्रवद्र्धन गरेको छ । यसले जहाज निर्माण र मर्मतसम्भार लगायतको काम गर्छ ।
कार्गोको क्षेत्रमा सिङ्गापुर एयर लोकप्रिय रहेको छ । धेरै ठूला विमान रहेको यस एयरलाइन्स यात्रुको संख्याको आधारमा दशौँ स्थानमा रहेको छ । यो एयरलाइन्समा अधिक सेयर सिङ्गापुर सरकारको छ ।
तेस्रो स्थानमा रहेको एएनए जापानको सबैभन्दा ठूलो एयरलाइन्स हो । राजधानी टोकियोको मिनाटोमा मुख्य कार्यालय रहेको यो एयरलाइन्सले घरेलु र अन्तर्राष्ट्रिय दुवै खाले उडान भर्ने गरेको छ । यसमा बीस हजार जनाभन्दा बढी कर्मचारी छन् ।
यसका अन्य सहायक सेवाहरू छन् । क्षेत्रीय एयरलाइन्स, एयर निप्पोन, सामान ढुवानी लगायतमा यसको संलग्नता छ । जापानमा एएनएको कार्गो सेवा पनि लोकप्रिय छ ।
सुरुवातमा यो कम्पनी निप्पोन हेलिकोप्टर एन्ड एरोप्लेनको रूपमा सन् १९५२ मा स्थापना भएको हो । घरेलु यात्राबाट उडान सुरु गरेको यो कम्पनीले लामो समयपछि अन्तर्राष्ट्रिय उडान भर्न थालेको हो । सुरुमा हेलिकोप्टरमा सीमित यसले सन् १९६० मा घरेलु उडान भर्न सुरु गरेको थियो ।
यसले सन् १९८६ मा अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो । पहिलो उडान ग्वाममा गरेको यस कम्पनीले अर्को वर्ष वासिङ्टन डिसी र न्यु योर्कसम्मको यात्रा तय गरेको थियो ।
युरोपमा उत्कृष्ट ठहर भएको एयर फ्रान्स एयरलाइन्स एयर फ्रान्स एएलएम समूहको स्वामित्वमा रहेको छ । यो स्काइ टिम ग्लोबल एयरलाइन्स एलाइन्सको सदस्य समेत हो ।
यस एयरलाइन्सका जहाज संसारका ७८ देशमा पुग्ने गरेका छन् । कोभिड महामारीबाट प्रभावित हुनुअघि यस एयरलाइन्सले सन् २०१९ मा चार करोड ६८ लाख तीन हजार यात्रु बोकेको थियो ।
यस एयरलाइन्सको स्थापना सन् १९३३ मा भएको थियो । विभिन्न समूहसहित सरकारकै पहलमा एयर फ्रान्सले सन् १९९० मा बृहत् स्वरूप लिएको थियो । सन् १९९४ मा ग्रुप एयर फ्रान्सले खरिद गरेको थियो । सन् २००३ मा केएलएमसँग गाभिएपछि यो कम्पनीले विमान संख्या र गन्तव्य बढाएको थियो ।
उत्तर अमेरिकाको उत्कृष्ट ठहरिएको डेल्टा एयरलाइन्सले दैनिक ५ हजार ४०० उडान भर्ने गरेको छ । डेल्टाका विमान ५२ देशका ३२५ गन्तव्यमा पुग्ने गरेका छन् । डेल्टा स्काइ टिम एयरलाइन्स एलाइन्स अन्तर्गत रहेको छ ।
यसका नौ वटा प्रमुख हब छन् । यसमा एटलान्टा सबैभन्दा प्रमुख मानिन्छ । उडान संख्या र आकाशमा रहने समयको आधारमा यो संसारको दोस्रो ठूलो एयरलाइन्स हो ।
संसारमा बरीयता निर्धारण गर्ने धेरै निकाय छन् । स्काइट्र्याक्सले गर्ने बरीयताको आधार यात्रुको मत हो । धेरै एयरलाइन्सका थुप्रै सकारात्मक पाटा भए पनि यात्रुको मत सर्वेक्षणबाट गरिएको बरीयता निर्धारणमा कतारले संसारका अन्य एयरलाइन्सलाई पछि छाडेको हो ।
–एजेन्सीहरूको सहयोगमा