विचार

धनधान्यको चाहनासँग जोडिएको तिहार महिमा

By डा. वासुदेव खनाल

November 04, 2021

भारतवर्ष (हिमालयदेखि दक्षिण समुद्र र पूर्वी समुद्रदेखि पश्चिमी समुद्रबीचको भूभाग) मा शरदऋतु र वसन्तऋतुलाई विशेष महत्व दिएको पाइन्छ । यी दुईवटा ऋतुहरूमा विशेष प्रकारका उत्सवहरू मनाउने गरिन्छ । शरदऋतुका उत्सवहरू भारतवर्षका कुना–कुना तथा जताततै मनाउने गरिन्छ ।

शरद ऋतुलाई सुभिक्ष (अन्नादि प्रशस्त भएको) को समयको रूपमा पनि शास्त्रमा लिएको देखिन्छ ।

शरद ऋतुमा धेरै व्रतोत्सवहरू मनाउने गरिएको छ । यो दृष्टिले पनि हाम्रा क्रान्तद्रष्टा ऋषिमुनिहरूले यो समयमा लक्ष्मीपूजालाई विशेष स्थान दिएका हुन् । यो समयमा आनन्दित भएर लक्ष्मीको उपासना गर्ने गरेको देखिन्छ ।

हिन्दु सनातन धर्ममा मनाइने विभिन्न उत्सवहरूमध्ये दीपावली उत्सव घर–घर, गाउँ–गाउँ, शहर–शहरमा बालकदेखि वृद्धसम्म, मूर्खदेखि लिएर पण्डितसम्म र राजादेखि लिएर रङ्कसम्म सबैले मनाउने गर्दछन् । यसले गर्दा यो पर्वमा यत्र–तत्र सर्वत्र आमोद–प्रमोद, आनन्द–विनोद तथा उल्लास छाएको हुन्छ ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने पर्व यमपञ्चक, तिहार, दीपावली आदि नामले चिनिन्छ । यो पर्व उज्यालो तथा बत्तिको पर्वको रूपमा पनि लिइन्छ । नेपालमा पर्व पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तथा उत्तर हिमालदेखि दक्षिण तराइसम्म आ–आफ्नै रीति–रिवाज तथा परम्परा अनुसार मनाइन्छ ।

यो पर्व नेपालमा मात्र नभएर भारतका सबैजसो क्षेत्रमा विभिन्न प्रकारले मनाउने गरेको देखिन्छ ।

यी पर्व केवल वैदिक सनातन धर्मावलम्बीहरूले मात्र मनाउँदैनन् नेपालमा बसोबास गर्ने अन्य धर्मावलम्बीहरूले पनि मनाउँछन् । यसले गर्दा दशैं, तिहार जस्ता पर्वले नेपाली समाजमा सांस्कृतिक रूप धारण गरेका छन् ।

दीपावली तथा यमपञ्चके पर्वको प्राचीनताको प्रमाण वैदिक साहित्यमा पाइन्छ । यमराजसँग सम्बन्धित यो पर्वका देवता यमराज हुन् । उनको वर्णन वैदिक साहित्यमा पाइने भएकाले यो पर्व वैदिककालदेखि मनाइएको हो भन्न सकिन्छ ।

आश्विन र कार्तिक गरी दुई महिनाको समय शरदऋतुका नामले जानिन्छ । यी दुई महिनामध्येमा पनि कार्तिक महिना नै लक्ष्मी पूजाका लागि उपयुक्त सम्झेका कारण यही महिनामा लक्ष्मीपूजा गर्ने गरिएको हो भन्दा अत्युक्ति हुनेछैन ।

हाम्रा पूर्वज ऋषिमहर्षिहरूले यो पर्वलाई विशेष स्थान दिएका छन् । कार्तिक कृष्ण अमावास्या लक्ष्मी पूजाका लागि उपयुक्त दिनको रूपमा  लिइएको हो ।

यो उत्सवमा त्रयोदशीको सायंकालको समयमा यमदीपदान, चतुर्दशीको प्रातःकाल अभ्यङ्ग स्नान र अमावास्याको दिन सायङ्कालमा दीपावली तथा लक्ष्मी पूजा गरिन्छ ।

यस्तै चौथो दिन गोवर्धन पूजा तथा पाँचौँ  दिन भाइटीकाको नामले प्रसिद्ध रहेको छ ।

धनत्रयोदशी : पाँच दिनसम्म चल्ने यो पर्वमा गरिने प्रत्येक दिनका कृत्य भिन्नभिन्न रहेका छन् । यसमध्ये यो पर्वको पहिलो दिनलाई धनत्रयोदशी (धनतेरस पनि भन्ने गरिन्छ) को रूपमा चिनिन्छ ।

यो दिन अर्थात् कार्तिक कृष्ण त्रयोदशीको दिन साँझको समयमा मठ, मन्दिर, कुवा, घाट, बाटो, गोशाला, अश्वशाला, गजशाला, द्वार आदिमा बत्ति बाल्ने गरिन्छ । तिहारमा मनाइने पाँच दिनमध्ये धनत्रयोदशी, नरक चतुर्दशी र लक्ष्मी पूजनमा अझ धेरै परस्पर सम्बन्ध रहेको देखिन्छ ।

हामीले मनाउने पर्वका दृष्ट र अदृष्ट गरी दुबै प्रकारका फल तथा उपयोगिता रहेको देखिन्छ ।

नरकचतुर्दशी : यसरी त्रयोदशीको दिन घर बाहिर रहेका कीटाणुहरू नष्ट गरिसकेपछि चतुर्दशीको दिन अभ्यङ्गस्नान गर्नुपर्ने शास्त्रीय विधान छ । यो स्नानबाट शरीरमा रहेका कीटाणु पनि नष्ट हुन्छन् र त्यसपछि मात्र दीपावलीको मुख्य उत्सव प्रारम्भ हुन्छ ।

यो दिन नरकचतुर्दशी किन रहन गयो भन्ने सम्बन्धमा विभिन्न पौराणिक वचनहरू पाइन्छन् । जसमध्ये श्रीकृष्णले नरकासुरलाई वध गरेको प्रसङ्ग पनि जोड्ने गरिएको देखिन्छ ।

नरक चतुर्दशीका दिन नरकबाट बच्न शरीरमा तेल लगाएर स्नान गर्नुपर्ने विधान रहेको छ । यसो गर्नाले नरकमा जान नपर्ने धार्मिक विश्वास छ ।

आयुर्वेदिक दृष्टिले हेर्ने हो भने पनि तेल लगाएर स्नान गरेको अवस्थामा शरीरमा चिसो घुस्न पाउँदैन जसले गर्दा चिसोबाट लाग्ने रोग लाग्दैन । रोग भनेकै नरक हो, रोगरूपी नरकबाट शरीरको रक्षा हुनु यसको दृष्ट फल हो ।

लक्ष्मीपूजा : अमावस्याका दिन लक्ष्मीको पूजा तथा आराधना गर्ने गरिन्छ । यो दिन पनि प्रातःकलामा तैलस्नान गरेर अलक्ष्मी (दुर्भाग्य) नाश गर्न लक्ष्मीको पूजा गर्नुपर्छ ।

लक्ष्मीपूजा विशेष गरेर वैश्यहरूको विशेष पर्व हो । प्राचीन मान्यताअनुसार ब्राह्मणको विशेष पर्व जनैपूर्णिमा हो भने क्षत्रियको दशैँ हो । यस्तै वैश्यहरूको विशेष पर्वको रूपमा लक्ष्मीपूजा तथा दीपावली र शूद्रहरूको विशेष पर्व होली हो भन्ने मानिन्छ ।

लक्ष्मीको आदिभौतिक रूप भनेको धन–सम्पत्ति अर्थात् सुन, चाँदी, मणि, रत्न आदि हुन् । आदिभौतिक स्वरूप शोभा हो र आदिदैविक रूप भगवती पद्मा या महालक्ष्मी हुन् जसलाई भगवान् विष्णुकी प्रियाको रूपमा चिनिन्छ ।

यसै दिन गाईलाई लक्ष्मीकी स्वरूप मानेर पूजा गर्ने प्रचलन पनि नेपाली समाजमा छ । त्यसैले यो अमावस्यालाई गौपूजा औँसी भन्ने प्रचलन पनि रहेको छ ।

गोवर्धनपूजा, बलिपूजा : कार्तिकशुक्ल प्रतिपदाको दिन सुप्रसिद्ध दानी असुरराज बलिको धूमधामका साथ पूजा गर्ने परम्परा रहेको छ ।

कार्तिक शुक्लप्रतिपदालाई वर्षका तीन शुभदिनहरूमध्येको एक हो जुन दिनदेखि नेपाल सम्वत् अनुसार नववर्षको प्रारम्भ पनि हुन्छ ।

यसले वचनमा बाँधिएका कारण वामन अवतार लिएका भगवान् वामनलाई तीन पाइला जमिन दान गर्ने सन्दर्भमा वामन रूपी भगवान्को एक पाइलाबाट सम्पूर्ण पृथिवी र अर्को पाइलाबाट सम्पूर्ण आकाश मण्डल ढाकिएपछि अर्को पाइला राख्न आफ्नो शिर दिएका थिए ।

भगवान् वामनले बलिराजालाई पातालमा पुर्‍याएर त्यो समयदेखि पातालको राजा र भविष्यमा स्वर्गको राजा इन्द्रको स्थिति प्रदान गरेको कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । उनी त्यो समयदेखि दानी राजाको रूपमा विश्वविख्यात मात्र भएनन्, त्यो समयदेखि आजका दिन बलिराजाको पूजा गर्ने प्रचलन रहेको छ ।

सनातन परम्परामा यमपञ्चकका पाँच दिनको आआफ्नै महत्व छ । यी प्रत्येक दिन मन, वचन, शरीर र कर्मको स्वास्थ्य; धनधान्य र दीर्घायुको मानव चाहनासँग जोडिएका छन् । सुभिक्षका निमित्त प्रकृतिप्रति आभार प्रकट गर्ने समय पनि हो । 

यसरी बलिको पूजा गर्ने दिन स्वाति नक्षत्रले युक्त भएको अवस्थामा अझ फलदायी हुने धार्मिक विश्वास छ । बलिराजाका साथ उनकी पत्नी विन्ध्याबलिको पनि पूजा गर्ने विधान रहेको छ ।

यो दिनलाई नेपाली पञ्चाङ्गमा गोरुपूजा भनेर पनि लेखेको पाइन्छ । तथापि यो दिनमा पहिलो दिन पूजा गरेका गाईको गोबर जम्मा गरेर गोवर्धन पर्वत बनाएर त्यसको पूजा गर्ने प्राचीन परम्परा छ ।

यो दिन भारतको उत्तरप्रदेशको मथुरामा रहेको गोवर्धन पर्वतमा गएर उक्त गोवर्धन पर्वतको पूजा गर्ने प्रचलन पनि छ । गोवर्धन पर्वतको पूजा गर्ने सन्दर्भमा भगवान् श्रीकृष्णको पनि पूजा गर्ने परम्परा रहेको छ ।

यमद्वितीया तथा भ्रातृद्वितीया : कार्तिक शुक्लपक्षको द्वितीयामा यमुनास्नान, यमपूजन र दिदीबहिनीको घरमा दाजुभाइले भोजन गर्नु अत्यन्त फलदायक मानिएको छ । नेपाली परम्परामा दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर मिष्ठान्न खुवाउने प्रचलन रहेको छ ।

द्वितीया तिथि यात्राका लागि, व्रतारम्भका लागि र मङ्गल कार्यका लागि विशेष रूपले मङ्गलमय मानिन्छ । यसदिन घरबाट धेरै टाढा जानेहरूका लागि उत्तम हुने शास्त्रीय विश्वास रहेको छ ।

यस्तै व्रत तथा यमपूजन गर्नाले अनन्त फल पाप्त हुने कुराको उल्लेख धर्मशास्त्रीय ग्रन्थहरूमा गरिएको छ । वैदिक सनातन परम्परामा दिदी–बहिनीलाई (दयाया भगिनी मूर्तिः) दयाकी मूर्ति मानिएको छ । दिदीबहिनीबाट आशीर्वाद प्राप्त गरेर उनका हातको भोजन गर्नाले आयु तथा आरोग्यको वृद्धि हुने शास्त्रीय विश्वास छ ।

कार्तिकशुक्ल द्वितीयाको सम्बन्ध यम र यमुनासँग पनि रहेको छ । यमुनालाई सूर्यनारायणकी पुत्रीको रूपमा लिइएको छ । यसको कारण जसरी गङ्गा हिमनदी हुन् त्यसैगरी यमुना नदी पनि हिमनदी नै हुन् ।

हिमनदीबाट निस्कने जल सूर्यको किरणको तापबाट जलरूपमा परिणत हुँदै हिमनदीको रूपमा परिणत हुन्छ । वास्तवमा त्यही शुद्ध जल यमुना नदीको रूपमा आउँछ । वर्षात्को भेलबाट सफा भएको शरद्कालीन जल अत्यन्त स्वच्छ हुन्छ र त्यो जललाई सर्वरोगनिवारक पनि मानिएको छ । यसलाई यमुनासम्बन्धी भौतिक अर्थको रूपमा लिन सकिन्छ ।

वैदिक सनातनधर्मावलम्बी आस्तिक जनका लागि गङ्गा एवं यमुनाको माहात्म्य अत्यन्त ठूलो छ जसको वर्णन विभिन्न पुराणहरूमा गरिएको छ ।

श्रीकृष्ण परब्रह्मका पूर्णावतार मानिएका छन् । श्रीकृष्णको सम्पूर्ण बाललीला यसै नदीको जलमा भएको वर्णन पुराणहरूमा गरिएको छ । गोवर्द्धन पर्वतको पूजा गरेपछिको अर्को दिन यमुनाको माहात्म्य आउनुले पनि यसै कुरालाई सङ्केत गर्दछ ।

कार्तिक महिनाको शुक्लपक्षको द्वितीयाको दिन अपराह्नको समयमा जसले यमराजको पूजा गर्दछ र यमुनामा स्नान गर्दछ उसले यमलोक देख्नुपर्दैन भन्ने कुराको वर्णन स्कन्दपुराणमा गरिएको छ ।

कार्तिक शुक्ल द्वितीयाको दिन किङ्करले सहित यमराजको पूजा गर्नेलाई यमराजले वाञ्छित फल दिने विश्वास पनि रहिआएको छ ।

यसै दिन यमुनाले आफ्ना दाजु यमराजलाई आफ्नो घरमा भोजन गराएर सत्कार गरेकी हुनाले नै यो दिन पर्वको रूपमा तीनै लोकमा विख्यात भएको हो भन्ने कुराको वर्णन पनि पौराणिक ग्रन्थहरूमा गरिएको छ ।

यस दिन यमराजका साथ अष्टचिरन्जीवीको पनि पूजा गर्ने गरिन्छ । यसरी यमराजका साथ अष्टचिरन्जीवीका प्रतिमामा पूजा गरेको अवस्थामा आयु बढ्ने विश्वास रहेको छ । अष्टचिरन्जीवीहरू अश्वत्थामा, बलि, व्यास, हनूमान, विभीषण, कृपाचार्य, परशुराम र मार्कण्डेयलाई लिइएको छ । (खनाल नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक हुन्)