राजनीति

माओवादी कमजोर भए जनताका अधिकार खोसिन्छन्: प्रचण्ड

By खबरहब

December 04, 2021

चितवन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी कमजोर भए जनताका अधिकार खोसिने जिकिर गरेका छन्।

चितवनको दिव्यनगरमा शनिबार कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले जनताका अधिकार जोगाउनका लागि माओवादी बलियो हुनुपर्ने बताए।

उनले भने, ‘माओवादी कमजोर भयो भने देश कमजोर हुन्छ, जनताका अधिकार खोसिन्छन् । माओवादी बलियो भयो भने देश बलियो हुन्छ, जनताले पाएका अधिकार जोगिन्छन्।’

माओवादी आन्दोलनले नै जनतालाई अधिकार सम्पन्न बनाएको उनको भनाइ थियो। गणतन्त्र, संघीयतासँगै महिला, दलित, जनजाती आदिवासी, मधेसी, मुस्लिमको अधिकारका लागि माओवादी नै लडेको दाहालको जिकिर थियो।

अझै पनि प्रतिक्रियावादी गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका विरुद्ध लागिरहेको उनको भनाइ थियो। यी सबैको रक्षाका लागि माओवादी बलियो हुनुपर्ने दाहालको दाबी थियो ।