राजनीति

मंगलबार बस्नेगरी एमाले कार्यदलको बैठक सकियो

By खबरहब

July 05, 2021

काठमाडौँ– नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकिएको छ। सिंहदरबारमा सोमबार साँझ बसेको बैठक झण्डै डेढ घण्टा बसेर सकिएको हो।

सोमबार साँझ सिंहदरबारमा बसेको बैठकमा अहिलेसम्मका घटनाक्रमको सामान्य समीक्षा भएको स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिए । उनका अनुसार पार्टीभित्रका समस्याका विषयमा मंगलबारदेखि छलफलले प्रवेश पाउने भएको छ ।

‘कार्यदलको बैठक नियमित अगाडि बढाउने निर्णय गर्यौं । आज कुनै विषयबस्तुमा प्रवेश गरेनौं । तर, हाम्रा आन्तरिक समस्या गम्भिर रुपमा विश्लेषण गरेर सम्भवतः भोलि बस्ने बैठकबाट छलफल अगाडि बढाउँछौं,’ बैठकपछि रावलले भने ।

कार्यदलमा ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । खनाल–माधवकुमार नेपालका तर्फबाट रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् ।