काठमाडौँ– तीन दशकअघिको समय, लामो कपाल भएको नायक र अबोध देखिने नायिका ! भारत र नेपालमा फिल्म हेर्ने जो कोहीका मस्तिष्कमा यस्ता दृष्य अझै ताजा छन् । त्यो समयका टिनएजरहरू या भर्खर टिनएज पार गरेकाहरू अहिले ५० को हाराहारीमा छन् । अहिले पनि त्यो साङ्गीतिक फिल्म ‘आसिकी’ को कुनै गीत सुन्दा मान्छे रोमाञ्चित हुन्छ ।
शायद धेरै जना फ्ल्यास ब्याकमै त्यही टिनएजको अन्तिम समयमा फर्कने छन् जुन समय उनीहरू ‘आसिकी’ फिल्म हरेर आफूलाई पनि नायक या नायिका अनुभूत गर्थे ।
त्यो समय धेरैका प्रिय कलाकार राहुल राय र अनु अग्रवालका बारे अहिले पनि कतिपयलाई चासो हुन सक्छ । फिल्मी दुनियाँमा अनु गुमनाम हुनुको रहस्यका बारे धेरैलाई कौतुहल पनि हुन सक्छ ।
नब्बेको दशकको ब्लकबस्टर फिल्म ‘आसिकी’ उत्कृष्ट अभिनय, कर्णप्रिय गीत र नायिकाको अबोध अनुहारका कारण विशेष थियो ।
दिल्ली विश्वविद्यालयबाट समाजशास्त्रमा स्वर्ण पदकधारी मेधावी अनु सन् १९८८ मा दूरदर्शनको टेली सिरियल ‘एसी बाहाने’ मार्फत अभिनयमा लागेकी थिइन् । यसको दुई वर्षपछि १९९० मा ‘आसिकी’ को सफलताले अनुको चर्चा एकाएक चुलिएको थियो ।
यी सर्वाधिक लोकप्रिय नायिकाको जीवनीमा अनेक आरोहअवरोह आए । सन् १९९७ मा विहारको योग स्कुलमा आबद्ध भएकी उनी १९९९ सम्ममा योगमा पारङ्गत भइन् । सोही वर्ष मुम्बई फर्केर योग प्रशिक्षकको रूपमा सक्रिय थिइन् तर अचानक कार दुर्घटनामा परिन् । उनले २९ दिन कोमामा बिताइन् र मृत्युको मुखबाट उम्किन् । त्यो समयमा उनले पुराना दिनको स्मरण समेत गुमाएकी थिइन् ।
सन् २००० को दशकसम्म आइपुग्दा दिल्ली विश्वविद्यालयकी ती मेधावी छात्रा अनुको जीवन र जगतप्रतिको दृष्टिमा यसरी परिवर्तन भयो कि उनी आममानिसभन्दा पृथक भइन् । फलस्वरूप सन् २००१ मा भिक्षुणी बनिन् ।
अहिले मुम्बईमा एक्लै बस्छिन् र नियमित योग साधनामा तल्लीन छिन् । उनी आत्मबल बढाउन गीतसङ्गीत र साहित्यको भूमिका धेरै हुन्छ भन्ने निष्कर्षमा छिन् ।
सन् २००४ मा हिन्दी फिल्म ‘जुली’ ले भारत र नेपालका फिल्मी बजारमा तहल्का मच्चायो । त्यो फिल्म कामुक थियो, त्यतिकै सन्देशमूलक पनि । यसमा नेहा धुपियाको प्रमुख भूमिका थियो ।
यसअघि सन् १९७५ मा ‘जुली’ नामक एउटा रोमान्टिक फिल्मले बजार तताएको थियो । उनन्तीस वर्षपछिको अर्को ‘जुली’ ले पुरानो जुलीले भन्दा बढी सफलता पायो । नेहा धुपिया अभिनित त्यो फिल्म समाजको यथार्थ चित्रण पनि थियो । यसपछि नेहा सन् २००५ मा ‘सुपरस्टार अफ टुमारो’ का लागि मनोनयनमा परेकी थिइन् ।
त्यसअघि नै नेहाले सन् २००४ मा फिल्म ‘कयामत’ का लागि ‘स्क्रिन अवार्ड’ जितेकी थिइन् । उनी २००४ मै ‘फिल्म फेयर अवार्ड’ र ‘स्टार गुयल्ड अवार्ड’ का लागि मनोनयनमा परेकी थिइन् ।
रङ्गिला, खुब सुरत, जङ्गल जस्ता चर्चित फिल्मकी नायिका उर्मिला, दोस्रो ‘जुली’ की नेहा, ‘आसिकी’ की अनु र ‘मैने प्यार किया’ की भाग्यश्री चर्चामा छैनन् । फायर, वाटर, अर्थ, साम एन्ड मी, कामिला निर्देशन गर्ने दीपा गुमनाम छिन् ।
सन् १९९४ मा ‘मिनाराम’ मा बाल कलाकारको भूमिकाबाट फिल्मी क्षेत्रमा होमिएकी नेहा सन् २०२१ सम्म पनि यथावतै रहिन् तर जुली जतिकै दमदार फिल्म आएनन् ।
सन् २०२० को सर्ट मुभी ‘देवी’ मा भने नेहाको अभिनय बेजोड थियो । त्यसो त सन् २०१८ मा ‘तुम्हारी सालु’ का लागि ‘स्क्रिन अवार्ड’ पाए पनि नेहाको चर्चा जुलीमा जस्तो भएन ।
‘मैने प्यार किया’ ८० को दशकको अन्त्यमा एकदमै चर्चित फिल्म थियो । नायिका भाग्यश्री पद्मारधनले यस फिल्ममा ‘फेयर अवार्ड’ जितिन् । यसपछि भने उनी बजारमा त्यति सफल भइनन् ।
हिमालय दसानीसँग बिहे गरेपछि भाग्यश्रीले तीन वटा फिल्म ‘कैद मे बबुल’, ‘त्यागी’ र ‘पायल’ मा अभिनय गरिन् । सन् १९९३ को ‘घर आया परदेशी’ भाग्यश्रीको ९० को दशकको अन्तिम हिन्दी फिल्म थियो ।
यसपछि उनी तामिल, कन्नड र तलेगु फिल्ममा व्यस्त भइन् । टेली सिरियल ‘सीआईडी’ र ‘कभीकभी’ उनको भूमिका थियो ।
सन् २००० को दशकमा भाग्यश्री फेरि हिन्दी फिल्ममा फर्किन् । सन् २००३ मै उनले ‘सन्तोषी मा’ मा अभिनय गरिन्, २००६ मा ‘हमको दिवानी कर गया’, २०१० मा ‘रेड अलर्ट’ र ‘वार विदिन’ मा अभिनय गरिन् ।
सन् २०२१ मा भाग्यश्री अभिनित ‘तलाइभी’ र ‘राधेश्याम’ बजारमा आउँदैछन् । यी फिल्मले बजारमा पार्ने प्रभाव त अहिले थाहा छैन तर सम्भवतः सन् १९८९ को ‘मैने प्यार किया’ ले जति चर्चा पाउने छैनन् ।
संयोग नै मान्नुपर्छ, भाग्यश्रीका छोरा अभिमन्यु दसानीले सन् २०१९ मा ‘मर्दको दर्द नहीँ होता’ का लागि फिल्म फेयर अवार्ड पाए । पछिल्लो समय भाग्यश्री सामाजिक सेवामा समेत सक्रिय छिन् । महाराष्ट्रले अघि सारेको भाग्यश्री स्किममा उनी सक्रिय छिन् ।
सन् १९९५ मा जैकी स्राफ र अमिर खानसँगै उर्मिला मातोण्डकरको ‘रङ्गिला’ ले सनसनी फैलायो । बेजोड अभिनयकी खानी उर्मिला सन् १९७७ मा तीन वर्षको उमेरमै कर्म तथा १९८३ मा ‘मासुम’ मा बाल कलाकारको रूपमा फिल्म क्षेत्रमा प्रवेश गरेकी थिइन् । ‘मासुम’ को त्यो अभिनयले धेरैलाई छोयो र अत्यधिक सफल भयो । उर्मिलालाई ठूलो स्टार भने यसको १२ वर्षपछि ‘रङ्गिला’ ले बनायो ।
उल्लेख गरिएका नायिका झैँ उर्मिला एउटै फिल्ममा मात्र सफल भएकी होइनन् । सन् १९९७ मा जुधाई, १९९८ मा ‘सत्य’, १९९९ मा ‘खुब सुरत’ र २००० मा थ्रीलर फिल्म ‘जङ्गल’ लगायत चर्चामा रहे । परन्तु, रङ्गिलाको जस्तो प्रभाव कुनैको पनि रहेन । अहिले उर्मिलाको चर्चा ९० को दशकमा जस्तो छैन ।
भारतीय फिल्म उद्योगमा अनु अग्रवाल, नेहा धुपिया, र भाग्यश्री जस्ता एक पटक सर्वाधिक चर्चामा आएर सेलाएका नायिका मात्र होइन, सर्वाधिक चर्चामा रहेर बिस्तारै सेलाएका निर्देशक पनि छन् ।
सन् १९९६ मा रिलिज भएको ‘फायर’ ले भारतमा सनसनी मच्चाए । ‘फायर’ की निर्देशक दीपा मेहताको अर्को फिल्म ‘अर्थ’ १९९८ मा र ‘वाटर’ २००५ मा रिलिज भए । पञ्चतत्वमध्येका तिन तत्वमा आधारित उनका यी तिनै चलचित्रले अन्तर्राष्ट्रिय क्षेत्रमा अधिक चर्चा पाएका थिए ।
भारतले ‘अर्थ’ लाई उत्कृष्ट वैदेशिक भाषाको चलचित्रको रूपमा ‘एकेडेमी अवार्ड’ मा दर्ता गरेको थियो भने ‘वाटर’ लाई क्यानडाले यसै विधाका लागि दर्ता गरेको थियो ।
सन् २००३ मा ‘जेनी अवार्ड’ पाएकी दीपाले क्यानडाको कला क्षेत्रको सबैभन्दा ठूलो मानिने ‘लाइफ टाइम आर्टिस्ट एचिभमेन्ट’ पनि पाएकी थिइन् ।
पन्जाबमा जन्मिएकी दीपाले दिल्लीको वेलहाम गल्र्स हाइ स्कुलमा पढेकी थिइन् । भारतीय सरकारसँग मिलेर शिक्षामूलक डकुमेन्ट्री निर्माण गरिरहेकी उनले क्यानडाका डकुमेन्ट्री फिल्म निर्माता पाउल सालटजम्यानसँग बिहे गरिन् ।
सन् १९९१ मा दीपाले पहिलो फिल्म निर्देशन गरेकी थिइन् । ‘साम एन्ड मी’ नामको उक्त फिल्म भारतीय युवा र यहुदी भलादमीको सम्बन्धका बारे थियो । त्यसै वर्ष उक्त फिल्मले क्यानडामा महिलाले निर्देशन गरेको सबैभन्दा ठूलो बजेटको फिल्मको कीर्तिमान बनाएको थियो ।
यसपछि दीपाको अर्को फिल्म ‘कामिला’ प्रदर्शन भयो । उनले आफ्नो करियरमा अंग्रेजी भाषाका फिल्महरू पनि निर्देशन गरिन् ।
धेरै सफलताका बीच दीपाको वास्तविक पहिचान भने तीन तत्वको नामबाट रहेका फिल्म नै हुन् । यी फिल्ममा अमिर खान, सीमा विश्वास, सबनम आज्मी, कुलभूषण कारभण्डा, जोन अब्राहम, राहुल खन्ना, लिसा रे र नन्दिता दासको अभिनय थियो ।
दीपाको फिल्म साम्सी सिध्वसँग सम्बन्धित रहे । उनको ‘अर्थ’ १९९१ मा प्रकाशित साम्सीको उपन्यास ‘क्र्याकिङ इन्डिया’ मा आधारित थियो । सिध्वसले सन् २००६ मा ‘वाटर’ फिल्ममा उपन्यास लेखेका थिए । दीपाका यी तीनै फिल्मममा सङ्गीत संयोजन ए आर रहमानले गरेका थिए ।
‘फायर’ दुई देउरानी र जेठानी बीचको यौन गतिविधिको विषय थियो भने ‘अर्थ’ १९४७ मा भारत–पाकिस्तान विभाजनले सीमा क्षेत्रमा सामान्य परिवारका व्यक्तिको जीवनमा पारेको प्रभावमा आधारित थियो ।
पन्जाबमा जन्मिएकी दीपाले बाल्यकालमै यी सबै देखेकी थिइन् । ‘वाटर’ ममा भने हिन्दु धर्मावलम्बीले आपत्ति जनाएका थिए ।
अहिले उल्लिखित नायिका र निर्देशकको खासै चर्चा छैन । कुनै समय उत्कृष्ट फिल्म दिएका कारण यिनलाई सम्झनेको ठूलो जमात भारतमा मात्र होइन, नेपालमा पनि छ ।
–एजेन्सीहरूको सहयोगमा