पर्यटन

मन्त्रालय भागवण्डामा गठबन्धनमा सहमति, मन्त्रिपरिषद् विस्तारको तयारी

By खबरहब

October 05, 2021

काठमाडौँ- सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रालय बाँडफाँडमा सहमति भएको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रालय बाँडफाँडमा सहमति भएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

‘मोटामोटी रूपमा मन्त्रालयमा सहमति भएको छ ।  सम्भवत बुधबार नै नत्र यसै साताभित्र  मन्त्रिपरिषद् विस्तार हुन सक्छ,’ देउवाले भने ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

सहमतिअनुसार कांग्रेसले लिने भनिएको सात मन्त्रालयमा अब सञ्चार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लिने छ । कांग्रेसले यसअघि गृह, परराष्ट्र, कानून र स्वास्थ्य राज्यमन्त्री लिइसकेको छ ।

यस्तै नेकपा माओवादी केन्द्रले लिने भनिएको ६ मध्ये अब भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपंक्षी मन्त्रालय लिने सहमति छ । माओवादीले यसअघि नै अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको छ ।

यस्तै नेकपा (एकीकृत समाजवादी)ले रक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, सहरी विकास, युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको जनाइएको छ ।

जनता समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय लिने मोटामोटी सहमति छ।

असार २९ मा प्रधानमन्त्री देउवाले साढे २ महिनासम्म कांग्रेसबाट तीन मन्त्री र २ राज्यमन्त्री तथा माओवादीबाट २ मन्त्रीका भरमा सरकार चलाउँदै आएका छन् ।