इनसाइट/स्पेशल

कोरोना कहरले संकटमा ‘होमस्टे’

By नारायण पंगेनी

August 06, 2021

नवलपुर– पूर्वी नवलपरासीको कावासोती नगरपालिका १५ बाघखोरस्थित अमलटारी मध्यवर्ति सामुदायिक होमस्टेले गत वर्ष दोस्रो पटक राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गरेको थियो ।

प्रकृति तथा जैविक विविधता संरक्षणमार्फत दिगो जीविकोपार्जनको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै डब्लुडब्लुएफले राष्ट्रिय संरक्षण पुरस्कार प्रदान गर्यो ।

वि.सं. २०७० साल जेष्ठ ५ गते समुदायस्तरबाट सञ्चालित यो होमस्टेले यसअघि २०७२ सालमा देशभरकै होमस्टेमध्ये उत्कृष्ट भइ पहिलो पटक एक लाख नगद पुरस्कार प्राप्त गरेको थियो । त्यो वर्ष होमस्टेले १ करोड ७५ लाख आम्दानी गरेको थियो ।

कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनिया थारु सोही अमलटारी मध्यवर्ति सामुदायिक होमस्टेका अध्यक्ष छन् ।

नगरपालिकाको मेयरकै हैसियतमा काम गर्ने अवसर पाएका थारुले विकास निर्माणका योजनाहरूका साथै जिल्लामा आउने महत्वपूर्ण कार्यक्रम, भ्रमण, तालिमहरू पनि आफ्नै होमस्टेमा पुर्याएर गराउन सफल छन् ।

मध्यवर्ति क्षेत्रमा मात्रै आधा दर्जन बढी होमस्टे

बाघखोरका थारु समुदायले सामुदायिक स्तरबाट होमस्टे सञ्चालन गरेपछि गैंडाकोटदेखि विनयीत्रिवेणीसम्मका मध्यवर्ति क्षेत्रमा आधा दर्जन बढी होमस्टे सञ्चालनमा आए ।

दुई वर्षअघि मात्रै कावासोतीकै मध्यवर्ति क्षेत्रमा अर्को सामुदायिक होमस्टे स्थापना भयो । कावासोती नगरपालिका १० मा थारु समुदायले नै चिलाहा–रतौल सामुदायिक होमस्टे सञ्चालन गरे ।

कावासोतीमाजस्तै देवचुली नगरपालिकास्थित मध्यवर्ति क्षेत्रमा पनि दुई वटा सामुदायिक होमस्टे सञ्चालनमा छन् । देवचुली–१७ मा थारु समुदायले पिप्रहर सामुदायिक होमस्टे र देवचुली १ स्थित मध्यवर्ति क्षेत्रको नारायणी टोलमा बोटेमाझी समुदायले शिशवार बोटेमाझी सामुदायिक होमस्टे सञ्चालन गरेका छन् ।

त्यस्तै, मध्यबिन्दु नगरपालिकाको मध्यवर्ति क्षेत्रमा पर्ने नारायणी नदी छेउमा नन्दपुर सामुदायिक होमस्टे सञ्चालनमा छन् । जिल्लाका सामुदायिक होमस्टेहरू सञ्चालनका लागि स्थानीय र प्रदेश सरकारले सहयोग गर्दै आएका छन् ।

गैंडाकोटदेखि बिनयी त्रिवेणीसम्म नै मध्यवर्ति क्षेत्रको नारायणी किनारमा सामुदायिक होमस्टे सञ्चालनमा आएसँगै निजी तवरमा पनि होमस्टे तथा होटलहरू स्थापना गरिएका छन् ।

व्यवसायबाटै पलायनको सम्भावना

चितवन राष्ट्रिय निकुञ्जलाई लक्षित गर्दै निकुञ्जको पश्चिम क्षेत्रस्थित नारायणी नदी किनारमा सञ्चालनमा आएका होमस्टे तथा होटल व्यवसायले पर्यटन प्रवद्र्धनको सम्भावना अत्याधिक बढ्दै थियो । तर श्रृंखलाबद्ध रुपमा देखिएको कोरोना संक्रमणले व्यवसाय नै धरापमा परेको छ ।

सामुदायिक होमस्टेजस्ता उत्पीडित जनजाति समुदायमा लक्षित दिगो जीविकोपार्जन तथा स्वरोजगारमुलक यस्ता कार्यक्रमका लागि अर्बौं रुपैयाँ लगानी भइसकेको छ ।

गत वर्ष चैतमा पहिलो पटक कोरोना संक्रमण देखिएपछि राज्यले लगेको ‘लकडाउन’ लाई सफल पार्न समुदायस्तरमा नै तारबार गरी बन्द ग्रामीण सडकहरू बन्द गरिएका थिए ।

बाघखोरको अमलटारी होमस्टेका सञ्चालकहरूले बाहिरको मान्छे प्रवेश गर्न सक्ने भन्दै होमस्टेको प्रवेशद्वारमा बाँस तेर्साएर बन्द गरेका थिए । तर एकपछि अर्को गर्दै कोरोना संक्रमण भई लामो समयको निषेधाज्ञाले व्यवसायबाटै पलायन हुनुपर्ने अवस्थामा उनीहरू पुगेका छन् ।

होमस्टे संकटमा परेपछि तरकारी उत्पादनमा

कोरोना महामारीका कारण डेढ वर्षदेखि ताला लगाएर बस्नु परेपछि यहाँका केही होमस्टे सञ्चालकहरूले भने विकल्प खोज्न थालेका छन् ।

पहिलो चरणको कोरोना संक्रमणका कारण लामो समयको लकडाउनको असरबाट त्रंग्रिन नपाउँद्रै दोस्रो चरणको चपेटामा परेका ब्यवसायीहरू फेरि तेस्रो लहरको त्रासदीले विकल्प खोज्न थालेका हुन् ।

होमस्टे व्यवसायको विकल्पमा कावासोती १० मा रहेको चिलाहा–रतौल सामुदायिक होमस्टे सञ्चालकहरू अर्गानिक तरकारी उत्पादनतर्फ लागेका छन् ।

डब्लुडब्लुएफ र लामिचौर मध्यवर्ती वन उपभोक्ता समितिको २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोगबाट होमस्टेका एक दर्जन बढी सदस्यले जमिन भाडामा लिएर तरकारी खेती शुरु गरेका छन् ।

टनेल बनाएर १३ कट्ठा क्षेत्रफलमा तरकारी, बोडी, घिरौला, काँक्रा जस्ता बेमौसमी तरकारी उत्पादन गरिएको होमस्टेका चिलाहा–रतौल होमस्टेका अध्यक्ष भेषराज महतोले बताए । यद्यपि उत्पादित तरकारीको बजार समस्या नभए पनि उचित मूल्य नपाइने चिन्ता भने उनीहरूमा छ ।