फाइल फोटो

देश/प्रदेश

झिनियाँको माग थेग्नै गाह्रो

By खबरहब

November 06, 2021

रामपुर–तिहारको समयमा बढी मात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि रामपुरका घरेलु उद्यमीलाई झिनियाँ बनाउन भ्याइनभ्याइ भएको छ ।

यहाँका घरेलु उद्यमीले तयार गर्ने झिनियाँ रोटीको माग पाल्पालगायत अन्य ठाउँबाट पनि आउन थालेपछि झिनियाँ रोटी बनाउन भ्याइनभ्याइ भएको हो । झिनियाँको माग बढेपछि यहाँका घरेलु उद्यमी औँधी खुशी छन् । गत वर्ष कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण राम्रोसँग व्यापार व्यवसाय गर्न नपाएका यहाँका घरेलु उद्यमीलाई तिहारका समयमा झिनियाँको माग बढेपछि अहिले झिनियाँ बनाउन भ्याइनभ्याइ भएको हो ।

नेपाली समाजमा तिहारको भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीको रुपमा दाजुभाइलाई खुवाउने परम्परा रहेपनि अन्य चाडबाडमा पनि यसको माग बढ्न थालेपछि बाह्रैमहिना झिनियाँ रोटी बनाउन भ्याइनभ्याइ भएको उद्यमी बताउँछन् । यहाँका उद्यमीले दशैँ तिहारलाई लक्षित गरी दुई महिना अगाडिदेखि नै झिनियाँ रोटी बनाउन थालेका छन् । विशेषगरी तिहारको बेलामा झिनियाँको माग अत्याधिक हुने भएकाले आफूले एक महिनादेखि झिनियाँ रोटी बनाइराखेको रामपुर नगरपालिका–५ राङ्गभाङ्गका मैयाँ (लक्ष्मी) श्रेष्ठले बताइन् ।

‘झिनियाँको माग अत्याधिक भएका कारण रातदिन नभनी काम गरिरहेको छु’,उनले भनिन्, ‘यही सिजनमा रु छ देखि सात लाखसम्मको झिनियाँका परिकार बिक्री गर्ने लक्ष्य छ ।’ उनको दैनिकी यतिखेर झिनियाँ बनाउँदैमा बितेको छ । उनले तिहारको अवधिमा मात्रै ९० क्वीन्टल बढी झिनियाँ बिक्रि गरिसकेकी छन् । उनी रामपुरमा व्यवसायिक रुपमा झिनियाँ उत्पादन गर्ने पुरानो उद्यमी हुन् । झिनियाँको माग बढी आउन थालेपछि श्रेष्ठले यस व्यवसायमा आठ जनालाई रोजगारीसमेत दिएको छ ।

‘गतवर्षको तिहारमा कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण सोँचेजस्तो व्यापार भएन, यस पटक भने धेरै माग आएको छ तर पुर्‍याउनै नसकिने अवस्था छ, बिहान देखि साँझ सम्म झिनियाँ बनाउने र बेच्ने कार्य निरन्तर चलिरहेको छ’, उनले भनिन् । एक दशकभन्दा बढी समय झिनियाँ बनाउने कार्यमा संलग्न रहेकी श्रेष्ठलाई झिनियाँ उत्पादन सम्बन्धी राम्रो ज्ञान र सीप छ । उनको पुरानो व्यवसाय भएकाले पनि ग्राहकको धेरै भीड यहाँ लाग्ने गर्दछ् । ‘बिहान देखि साँझ आँखाले ठम्याउँदा सम्म झिनियाँ बनाउने हो, तिहारमा दिन बितेको पत्तो नै हुँदैन, ग्राहकलाई पुर्‍याउनै हम्मेहम्मे हुन्छ, जताततैबाट माग आइरहेको छ’, श्रेष्ठले भनिन् ।

घरभित्रै बसेर छोटो समयमा पनि लाखौँ कमाई गर्न सकिने बताउँदै उनले मेहनत गरियो भने राम्रो सफलता हात पर्ने अनुभव सुनाइन् । पछिल्लो समय नयाँ नयाँ ठाउँबाट ग्राहकको माग धेरै आउने गरेको श्रेष्ठका श्रीमान् रुद्रनारायण श्रेष्ठले बताए । उनले भने, ‘यस पटकको तिहारमा कावासोती, सुनवललगायत विभिन्न नयाँ बजारमा पनि झिनियाँ पु¥याउन सफल भयौँ, व्यवसाय राम्रै छ, उत्पादन गर्न सकेमात्रै भयो, बजारको चिन्ता छैन, अहिले झिनियाँ तिहारमा सबैका घर घरमा अनिवार्यजसो बनेका छन् ।’

तिहारमा दाजुभाइलाई सप्तरङ्गी टिकासँगै सप्तरङ्गी झिनियाँसमेत खुवाउने परम्परा रहेकाले उद्यमीहरु विभिन्न रङ्गका झिनियाँ निर्माण गर्न व्यस्त देखिएका छन् । उद्यमीहरु बिहान ३ बजेदेखिनै उठेर झिनियाँ निर्माणमा व्यस्त हुने गरेका छन् । ‘अहिले झिनियाँको माग अत्याधिक छ’, रुद्रनारायणले भने, ‘तिहारमा यसको महत्व भएकाले माग ह्वात्तै बढेको छ ।’ उद्यमीहरुका अनुसार एक हजार ४०० को चामलबाट करीब दुई हजार ५०० देखि तीन हजारसम्मको झिनियाँ तयार गर्न सकिन्छ । थोक मूल्यमा दर्जनको एक सय रुपैयाँ तथा फुटकर रु १५० मा बिक्री गर्दै आइरहेका यहाँका उद्यमीले यतिबेला झिनियाँ तयार गरेर सुकाउनमा व्यस्त हुने गरेका छन् ।

रामपुर नगरपालिका–४ स्थित सिन्दुरटारका लक्ष्मी श्रेष्ठले झिनियाँको बिक्रीबाट सबै खर्च कटाएर वार्षिक रु तीन लाखको आम्दानी गर्छिन् । उनले घरमै बसेर पनि राम्रो कमाई गर्न सक्ने, व्यापारमा सहजता र बिक्री सजिलै हुने भएकाले व्यवसायिक तवरबाट झिनियाँ उत्पादन गर्न थालेको बताइन् । चामलको पिठोलाई पकाएर मेसिनको सहायताले झिनियाँ बनाई सुकाएर तयार गर्ने गरिन्छ । विशेषगरी विगतमा तिहार पर्वका लागि मात्र बनाइने झिनियाँ हिजोआज भने अन्य समयमा पनि यसको व्यापार हुने गरेको पाइएको छ । घरायसी खाजाका रुपमा पनि झिनियाँलाई लिने गरिन्छ ।

तिहारबाहेक विवाह, ब्रतवन्ध, पूजाआजा, माघेसंक्रान्ती, तीजलगायतका विभिन्न पर्व र शुभकार्यमा यसको प्रयोग बढ्दो छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टिका लगाइदिएपछि प्रसादस्वरुप झिनियाँ दिने चलन छ । झिनियाँबाट राम्रो आम्दानी हुन थालेपछि हिजोआज महिलाहरु यो व्यवसायप्रति आकर्षित भएका हुन् । घरमा बसेर कम लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने हुँदा पनि ठूलो लगानी कसरी गर्ने भन्ने पिरलो छैन । बिहान साँझ घरधन्दा सकाएर महिलाले दिउँसोको समयमा झिनियाँ उत्पादन गरेर आफ्नो जीविका धानेका छन् । यसले पनि महिलाहरुमा परनिर्भरता हट्दै गएको पाइएको छ ।