बलिउड/हलिउड

आर्यनको जमानतबारे आज सुनुवाई हुँदै

By खबरहब

October 07, 2021

मुम्बई(अमर उजाला)– क्रुजमा लागुऔषध र रेव पार्टी मामलामा शाहरुख खानका छोरा आर्यनलाई प्रहरीले बिहीबारसम्म हिरासतमा राखेको छ । मुम्बईको एक अदालतले सोमबार आर्यनसहित तीन आरोपीलाई सात अक्टोबरसम्म हिरासतमा बस्न आदेश दिएको थियो । आज आर्यनको हिरासत अवधि पुरा हुँदैछ । उनलाई आज अदालतमा पेश गरिँदैछ । आर्यनका वकिल पुनः एकपटक जमानतका लागि अदालतमा निवेदन दिँदैछन् ।

गत अक्टोबर ४ मा एनसीबीले अदालतमा आर्यन कोडवर्डमा च्याटिङ गर्ने गरेको र त्यसलाई डिकोड गर्नका लागि हिरासतमा बस्नु जरुरी रहेको बताएको थियो । एनसीबीले आर्यनका कैयौं च्याटले उनी लागुऔषधको डिलरसँग नियमित सम्पर्कमा रहेको देखाएको दाबी गरेको थियो ।

आर्यनका वकिलले आर्यनलाई विशेष पाहुनाका रुपमा बोलाएको र उनी एक साथीका साथ त्यहाँ पुगेको उल्लेख गरेका छन् । वकिलले आर्यनलाई क्रुजमा जान एक रुपैंयाँ पनि नदिइएको र त्यहाँ कोही पनि आयोजकलाई उसले नचिनेको दाबी गरेका छन् । उनले एनसीबीले ह्वाट्सएपको च्याटमार्फत मुद्धा बनाइरहेको आरोप लगाएका छन् ।

आर्यनसहित आठ व्यक्तिलाई अक्टोबरमा गोवा जान लागेको एक क्रुजमा छापामारी गर्दा पक्राउ गरिएको थियो । त्यसको भोलिपल्ट उनीहरुलाई २२ घण्टा न्यायिक हिरासतमा राखिएको थियो ।

समाचारअनुसार आर्यनले अनुसन्धान अधिकारीहरुलाई सहयोग गरिरहेका छन् र उनले चार पृष्ठको बयान दिएका छन् । उनको हिरासत अवधि बिहीबार सकिने भए पनि लागुऔषध ब्यूरोले भने ११ अक्टोबरसम्म राख्ने प्रयास गरिरहेको छ ।