प्रेरक

मेरी क्युरीको सफलता

By खबरहब

November 07, 2021

पोल्याण्डमा जन्मिएकी मेरी क्युरी (मान्या स्क्लोदोवस्का) दुईवटा नोबेल पुरस्कार प्राप्त गर्ने एक मात्रै महिला हुन् । उनले भौतिक तथा रसायन शास्त्रमा नोबेल पुरस्कार जितिन् ।

जब उनी १६ वर्षकी थिइन् तब उनकी आमाको मृत्यु भयो । त्यसपछि उनका बाबुको ब्यापार पनि टाट पल्टियो । उनले धेरै मुश्किलहरुको सामना गर्नुपर्‍यो । सौभाग्यवश उनको भेट पियरे क्युरीसँग भयो र दुवैले विवाह गरे । सोरबनमा पि.एच.डी.को अनुसन्धान गर्ने क्रममा उनले २ वटा नयाँ तत्व रेडियम र पोलोनियम पत्ता लगाइन् ।

उनले जीवनभर आफ्नो ज्यान जोखिममा राखेर प्रयोग गर्दै रहिन् । उनलाई विकिरणको प्रभाव ज्यादै नराम्रो हुन्छ भन्ने थाहा थियो । यसको बाबजुद आफ्नो गर्भावस्थामा पनि उनले विकिरणको खताको बिचमा काम गरिरहिन् ।

पुरुषप्रधान समाजमा सफल हुनलाई महिलाले कयौँ बाधा र पूर्वाग्रहको सामना गर्नुपर्छ । मेरी क्युरीले रेडियमलाई पत्ता लगाइन् तर महिलाले यस्तो खोज गर्न सक्छन् भन्ने कुरा आम मानिसले विश्वास गर्दैनन् भन्ने उनलाई थाहा थियो । त्यसैले आफ्ना पतिको साथ नोबेल पुरस्कार बाँड्नुपर्‍यो ।

त्यसपछि सोरबनमा उनका पतिलाई प्रोफेसर बनाइयो भने मेरीलाई उनको सहायक । सन् १९०६ मा उनको पतिको मृत्युपछि मेरीलाई पियरेको पद त दिइयो तर प्रोफेसरको पूरै दर्जा भने दिइएन । उनलाई लेक्चरर र प्रयोगशालाको प्रमुख त बनाइयो तर विभाग प्रमुख बनाइएन । अन्नतः १९०८ मा उनलाई पूरै प्रोफेसर पदको नियुक्ति दिइयो । मेरी क्युरीको जीवन एक महान् जीवन थियो । उनको जस्तो मेहनत र साहस भए मान्छेले धेरै कुरा गर्न सक्छ ।

साभारः ‘सफलता’ पुस्तकबाट