एजेन्सी- अमेरिकी हवाई कम्पनीहरुको जासुसीको आरोप खेपिरहेका एक चिनियाँ गुप्तचरलाई अमेरिकी संघीय जुरीले दोषी ठहर गरेको छ ।
अमेरिकाको कानून मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा चिनियाँ गुप्तचरले अमेरिकी उड्डयन कम्पनीहरूको जासुसी सम्बन्धी विभिन्न पाँच वटा मुद्दामा शू येन्जुन नामका गुप्तचर दोषी ठहर गरेको हो । उक्त मुद्दामा उनलाई ६० वर्षसम्म कारागार र ५० लाख डलरभन्दा बढी जरिवाना हुन सक्ने सीएनएनले जनाएको छ ।
सन् २०१८ मा बेल्जियममा पक्राउ परेका शूलाई अमेरिका सुपर्दगी गरिएको थियो । चिनियाँ राज्य सुरक्षा मन्त्रालयअन्तर्गत रहेको जिआङ्सू शाखाका वरिष्ठ अधिकारी रहेका उनले प्रतिगुप्तचरी, वैदेशिक गुप्तचरी र आन्तरिक सुरक्षासँग सम्बन्धित विषयहरू हेर्दै आएको अमेरिकी अधिकारीहरुको अनुसन्धानबाट खुलेको थियो ।
उनले सन् २०१३ देखि नै अमेरिकी हवाइ कम्पनीको सूचना चोरीको कोशिस गरेको अमेरिकी दाबी छ । सन् २०१७ मा जीई एभिएशनका एक कर्मचारीलाई शूले निशुल्क रूपमा एउटा चिनियाँ विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन व्यवस्था मिलाइदिए बापत गोप्य प्राविधिक सूचना लिएको खुलेको थियो ।
ती कर्मचारीमार्फत जीई एभिएशनले उपलब्ध गराएको कम्प्युटरको फाइल डाइरेक्टरी भेटेरै लिन खोज्ने क्रममा उनलाई बेल्जियममा पक्राउ गरिएको थियो ।