समाचार

प्रदेश-१ मा छ जनामा संक्रमण

By खबरहब

November 07, 2021

विराटनगर- गएको २४ घण्टामा प्रदेश नं १ मा छ जनामा मात्र कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

असोज र कत्तिकको अहिलेसम्म एक दिनमा पाइएको यो सबैभन्दा कम सङ्क्रमित सङ्ख्या हो । आइतबार देखिएका कोरोना सङ्क्रमितमा मोरङमा तीन, झापामा दुई र सुनसरीका एक जना छन् ।

यस प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङको विराटनगरमा तीन, झापाको भद्रपुर र कमल गाउँपालिकामा एक/एक र सुनसरीको इटहरीमा एक जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

यस प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख सात हजार १८४ पुगेको छ भने यस भाइरसबाट मुक्त हुनेको सङ्ख्या एक लाख चार हजार ९१९ रहेको मन्त्रालयले जनाएको छ । यस प्रदेशमा अहिले पनि दुई हजार २६५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित छन् ।

प्रदेशमा आज ४७ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् भने एक महिला सहित पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्ममा यस प्रदेशमा यस भाइरसबाट दुई हजार १४७ जनाको मृत्यु भएको छ ।