विचार

त्यो कतार ! यो नेपाल !

By डा. नवराज खतिवडा

November 08, 2021

पूर्व–पश्चिम राजमार्गमा पर्ने गोलबजार र लाहानको बीचमा कसाहा भन्ने ठाउँ रहेछ । मालदह आँपका लागि अधिकांशले सम्झिने शहर हो लाहान । गोलबजार भने आफ्ना समकक्षीहरूलाई उछिन्दै अघि बढेको आभास भयो । कसैले सुनायो, ‘गोलबजारमा खुलेको डिपार्टमेन्टल स्टोर प्रदेश २ कै पहिलो हो ।’

आर्थिक समृद्धिको सङ्केत गर्ने यो व्यापारिक भवन भएकै भूगोलको सिमरा भन्ने गाउँमा एक मुसहर बस्ती रहेछ, कसाहाबाट लगभग १० किलोमिटर दक्षिणमा ।

त्यो बस्तीमा पाँच दर्जन जति घरधुरी रहेछन्, ऐलानी जग्गामा बनाइएका ससाना टहरा, सीमित घरमात्र इटा–सिमेन्टका । मैले एक युवकलाई सोधेँ, ‘यो बस्तीबाट कोही युवा वैदेशिक रोजगारीका लागि कतार गएको छ ?’ एकछिन गमेर उसले उत्तर दियो, ‘शायद एक जना होला ।’

नेपालबाट लाखौँ श्रमिकहरू कैयौँ मुलुकमा गएका छन् । मैले त्यो युवकलाई साेध्नुकाे कारक थियो मेरो हातमा भएको एउटा पुस्तक ।

पुस्तकको नाम थियो ‘मैले देखेको कतार’, लेखक मोहम्मद रमजान अलि मियाँ ।

‘नेपालले कतार बनायो अब कतारले नेपाल बनाउनु पर्छ’ भन्ने मूल सन्देश रहेको उक्त कृति समकालीन नेपाली गैरआख्यान पुस्तक संसारमा एक चम्किलो तारा हो भन्ने मेरो ठहर छ ।

यो पुस्तकको अर्को महत्वपूर्ण विशेषता के हो भने यसमा पाठकको ठूलो जमातलाई आकर्षित गर्ने चुम्बकीय क्षमता छ । ती सम्भाव्य पाठक राजनेता, राजदूत, परराष्ट्र मामिला हेर्ने अधिकारी, व्यापारी, इन्जिनियर, अर्थशास्त्री, ‘अन्तर्राष्ट्रिय सम्बन्ध’ विषयका अध्येता हुन सक्छन् ।

यसमा सबैभन्दा महत्वपूर्ण चाहिँ विदेशी भूमिलाई कर्मक्षेत्र बनाएका वा भविष्यमा बनाउने चाहना भएका नेपाली नागरिक र तिनका आफन्त पर्छन् ।

कतार पुगेर फर्केका नेपालीले रातदिन श्रम गरेर कमाएको सम्पत्ति र ठगिधन्धा गरेर वा तर मारेर आएको आम्दानीबीचको फरक थाहा पाएका छन् । बेइमानी नेता र स्वार्थी झोलेहरूको रणनीति बुझ्ने भएर फर्केका छन् ।

राजनेताका लागि पुस्तकले ‘मुलुकको समृद्धि र द्रुत आर्थिक विकासको चुरो दूरदृष्टि हो’ भन्ने महत्वपूर्ण सन्देश दिएको छ । कतारको जनसङ्ख्या ३० लाखमात्र छ । त्यसमा पनि त्यहाँका रैथाने अरबीहरूको सङ्ख्या १५ प्रतिशतभन्दा पनि कम छ ।

अचम्मको कुरो ! नेपालीहरूको सङ्ख्या पनि १५ प्रतिशतकै हाराहारीमा छ । अर्थात रैथाने अरबी र श्रमको खोजीमा कतार पुगेका नेपालीहरू लगभग बराबर सङ्ख्यामा छन् ।

कतारले सन् २०३० सम्ममा २४० खर्ब (नेपाली रुपैयाँ) बराबरका बृहत् आयोजनाहरूमा लगानी गर्ने योजना बनाएको छ । लगभग २० खर्ब लागतको अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणको निर्माण सम्पन्न भई भर्खर सञ्चालनमा आएको छ ।

कतारलाई बहराइनसँग जोड्ने समुद्रमाथि ४० किमि लामो राजमार्ग लगभग ४ खर्बको लगानीमा निर्माणाधीन छ । फिफा वर्ल्ड कपका लागि बनाइँदै गरेको रङ्गशालाको लागत १२ खर्ब छ ।

नेपालमा यति ठूला आयोजनाको बारेमा चर्चासम्म पनि नसुनेका र आफूले त्यस्तो काममा पल्टाउनु पर्ने कुनै ढुङ्गो पनि शायदै देखेका हाम्रा राजनेताहरू भने पटकपटक कतारको राजकीय भ्रमणमा गएको व्यहोरा पुस्तकमा समावेश छ ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले, तत्कालीन राष्ट्रपति रामवरण यादवले, राष्ट्रपति विद्यादेवी भण्डारीले कतारको राजकीय भ्रमण गरेका रहेछन् । यस्तै सभामुख, उपप्रधानमन्त्री, परराष्ट्र मन्त्रीहरू र अन्य मन्त्री तथा उच्च पदस्थ कर्मचारीले पनि पटकपटक कतारको औपचारिक भ्रमण गरेर आफ्ना समकक्षीहरूसँग भेटवार्ता गरेका रहेछन् ।

कोइराला सन् १९९९ मा कतारको भ्रमणमा जाँदा त्यहाँको प्रतिव्यक्ति आय २१ हजार अमेरिकी डलर रहेकोमा हाल ६० हजार डलर पुगेको छ ।

कतार पुगेका नेपाली राजनेताको लर्को देखेका मियाँको मन यसरी अमिलिन्छ, ‘कतारका नेताले हाम्रै जनको श्रम किनेर मुलुकको द्रुत विकास गरेका छन् । हामी तीन करोड भएर पनि कतारको पाँच लाख जनसङ्ख्यासँग प्रतिस्पर्धा गर्न सकेनौँ । हामी जहाँको तहीँ छौँ । हाम्रै दाजुभाइले कतारमा चमत्कार गरे । त्यही चमत्कार नेपाली धरतीमा पनि गर्न सकिन्थ्यो ।’

नेपालका अधिकांश नेतालाई विकासको चुरो कुरो बुझ्ने अवसर नपाएको भने होइन । राजा वीरेन्द्रले सन् १९९९ मा कतार भ्रमण गर्दाको एक रोचक प्रसङ्ग मियाँले उल्लेख गरेका छन् । कतारलाई मध्यपूर्वको सिङ्गापुर बनाउने सपना बोकेका तत्कालीन नरेशले नेपाली नरेशलाई भनेछन्, ‘तपाईंहरूसँग पहाड छ हामीसँग समुद्र छ, साटासाट गरौँ न ।’

वास्तवमा कतारका नरेशले यथार्थ कुरा भनेका थिए । नेपालका केही रुखा र निर्जन पहाड काटेर बङ्गालादेश, माल्दिभ्स वा कतार जस्ता मुलुकलाई बेच्न सकेको भए हामी पनि दुई दशकमा हाम्रो प्रतिव्यक्ति आय कतारकै जस्तो तेब्बर चौबर पार्न सक्ने थियौँ । यसो भएको भए हाम्रा पाँच लाख नेपालीजन कतार जानु पर्ने थिएन, नेपालमै रोजगारी पाउँथे ।

मियाँले तीन खण्डमा बाँडिएको उनको पुस्तकका धेरै ठाउँमा आफ्नो कर्मभूमि कतार र जन्मभूमि नेपाल तुलना गरेका छन् । नेपाली जनता र नेताहरू कहाँनिर चुके भन्ने कुरा बेजोड उठान गरेका छन् ।

हामीले जथाभावीरूपमा कृषियोग्य जमिन मासेर अव्यवस्थित बसोबास र अनियोजित पूर्वाधारको बाढी ल्याएका छौँ । यस विषयमा मियाँले लेखेका छन्, ‘जथाभावी तरिकाले नागरिकलाई घर बनाउने अधिकार दिएर राज्यले त्यति सुन्दर काठमाण्डौलाई सिमेन्ट र रङको जङ्गल बनाइदियो र सक्काइदियो काठमाण्डौको हरियाली ।’

तर उता कतारमा खरबौँको लगानीमा औद्योगिक शहर, व्यापारिक केन्द्रहरू, बन्दरगाह र व्यवस्थित बसोबासका केन्द्रहरू चामत्कारिक तवरमा निर्माण भइरहेको व्यहोराले मियाँ लगायतका लाखौँ नेपालीको मन झस्केको छ ।

कतार पुगेकालाई मात्र होइन, जोकोही नेपालीलाई पनि चमत्कार लाग्ने सयौँ परियोजना अहिले कतारमा निर्माणाधीन छन् ।

तीमध्ये एउटा प्रतिनिधि उदाहरण हो राजधानी दोहामा बन्दै गरेको साढे आठ किलोमिटर लामो बर्वा कमर्सियल एभेन्यू । अनुमानित सय हेक्टरमा फैलिएको यो एभेन्यूमा व्यापारिक, आवासीय र कार्यालय प्रयोजनका लागि आधुनिक सुविधा उपलब्ध हुनेछन् ।

यस्तो चमत्कारको साक्षी हुँदै आफूले श्रम बेचेर ल्याएको श्रीसम्पत्तिले काठमाण्डौ या गोर्खाजस्ता प्रमुख शहरमा तीन–चार आनामा झ्यालविनाका घर बनाउनु पर्दा कुन नेपालीको मन नकुँडिदो हो !

औद्योगिक क्षेत्र बनाउन अधिग्रहण गरिएको जग्गा सुकुम्बासीले कब्जा गर्न खोज्दा हालै बुटवलमा भएको हिंसात्मक आन्दोलनका खबर पनि उनीहरू पढ्दा हुन् । उताको भूउपयोगको अलौकिक नमूना अनि यता आफ्नो धरतीमा अनियन्त्रित र अनियोजित शहरीकरण देखेर उनीहरू सोच्दा हुन्,

‘हाम्रो नेपालमा भने कतारको जस्तो चामत्कारिक विकास किन नभएको होला !’

यस्तो सोचिरहेका नेपाली युवा नेतालाई आवश्यक गतिलो खुराक मियाँले आफ्नो कृतिमा दिएका छन् ।

पहिलो र महत्वपूर्ण पक्ष हो नेताहरूको मुलुक निर्माण गर्ने दूरदृष्टि । कतारी नेताहरूले बडो चातुर्यका साथ ‘राष्ट्रिय विकास रणनीति’ बनाएका छन् ।

आकाशमार्गमा कतार एयरवेजको उल्लेखनीय उपस्थिति कतारको समृद्धिको अर्को परिचय हो । कतार एयरवेजले हाल १७० देशमा आफ्नो नियमित उडान सञ्चालन गरेको रहेछ । यसका ४५ हजार कर्मचारीमा १० प्रतिशत जति त नेपाली रहेछन् ।

भूगोल र जनसङ्ख्याको हिसाबमा नेपालभन्दा धेरै सानो कतारले विश्वका शक्तिशाली राष्ट्रहरूलाई समेत चकित पार्दै कूटनीतिक चातुर्यका साथ आफूलाई सन् २०२२ को फिफा विश्वकप आयोजक राष्ट्रको बनाउन सफल भएको छ ।

कतारमा फूटबल खेल अति लोकप्रिय रहेछ । त्यहाँ रहेका नेपालीहरूले पनि फूटबल टोली बनाएर ठूलो प्रसिद्धि कमाएका रहेछन् । फूटबलकै रणसङ्ग्राममा यस्तो प्रवल सम्भावनाको साक्षी भएका मियाँको मन फेरि दुख्छ ।

उनी लेख्छन्, ‘कतारको नेपाली फुटबल क्लबलाई (प्रोत्साहन दिन) राजदूतावासले खेलाडी र फूटबलप्रेमीको मनोबल उच्च पार्ने कुनै कार्यक्रम ल्याउन सक्थ्यो । तर यसमा जाँगर चलाएन ।’

नेपालमा जस्तै कुनै समय कतारमा पनि नाकाबन्दी भएको थियो । पूरै मध्यपूर्व कतारको विरुद्ध खनिएको थियो । यस्तो बेला कतारी राजनेताहरूको सुझबुझ र कूटनीतिक पहलले त्यो सङ्कट मोचन भयो । कतारी जनताले पुनः राष्ट्रको द्रुत आर्थिक विकासको महाअभियानमा आफूलाई सरिक गराए ।

नाकाबन्दीको समयमा राष्ट्रिय ध्वजाबाहक कतार एयरवेजले आकाश मार्गबाट चार हजार गाई चामत्कारिकरूपमा ढुवानी गरेको प्रसङ्ग पुस्तकमा उल्लेख गरिएको छ ।

आकाशमार्गमा कतार एयरवेजको उल्लेखनीय उपस्थिति कतारको समृद्धिको अर्को परिचय हो । कतार एयरवेजले हाल १७० देशमा आफ्नो नियमित उडान सञ्चालन गरेको रहेछ । यसका ४५ हजार कर्मचारीमा १० प्रतिशत जति त नेपाली रहेछन् ।

मियाँले लेखेका छन्, ‘मैले देखेको कतार आन्तरिक र बाह्य दुवैरूपमा शक्तिशाली छ । के गर्नु हुन्छ, के गर्नु हुँदैन, किन गर्नु पर्छ, किन गर्नु हुँदैन, यी विषयको राम्रो ज्ञान छ कतारलाई । शिक्षालाई प्राथमिकतामा राखेर विकासको मार्गमा दौडिरहेको कतार देख्दा लाग्छ यसको गति कसैले मत्थर पार्न सक्दैन ।’

‘मैले देखेको कतार’ का लेखक रमाजान अलि मियाँ आफैँमा एक अभियानी, समाजसेवी र दूरदृष्टि भएका अगुवा हुन् । उनले दोहास्थित नेपाली राजदूतावासमा पनि केही समय काम गरे ।

उनले श्रमिक नेपालीका समस्या नजिकबाट सूक्ष्म अध्ययन गरेका छन् । अनगन्ती कानूनी परामर्श दिएका छन् । विकराल समस्याहरूको समाधानको पाटो बताइदिएका छन् ।

वैदेशिक रोजगारीबाट फर्केका नेपालीको जमात एउटा महत्वपूर्ण शक्ति हो । सम्भवत यसको परिचालन गरेर कतारी सद्भावले यसमाथि मूल्य थप गर्दा नेपालले पनि कतारले जस्तै विकासनिर्माणमा चमत्कार गर्ने बाटो खुल्न सक्छ ।

गैरकानूनी बसोबास गरेका नेपालीलाई स्वदेश नेपाल फर्काउने वा नियतिको शिकार भएर सजाय भोगिरहेका नेपाली सन्ततिको सजाय मिनाहा गराउन कतारका सरकारी निकाय र नेपाली कूटनीतिक नियोगसँग मियाँले सहकार्य गरेका छन् ।

विश्वव्यापी परोपकारी संस्था वा कतारका सामाजिक र मानव कल्याणकारी संघसंस्थाहरूमार्फत पीडितहरूलाई आर्थिक सहयोग जुटइदिएका छन् ।

मियाँले अरबी भाषामा नेपाली श्रमिकका समस्याहरूबारे लेखरचना प्रकाशित गराएका छन् । मृत्यु भएका श्रमिकहरूका परिवार खोज्ने र सम्पर्क गर्ने काम गरेका छन् । नेपाली श्रमिकहरूका लाश बोकेर नेपालको दूरदराजसम्म गएका छन् ।

यसो गर्दा हाम्रो वैदेशिक रोजगारीबारे सिर्जित भ्रम र विदेशको कानूनी तौरतरिकाबारे जानकारी अभावले भईपरीआएका कठिन परिस्थितिहरूको सामना पनि गरेका छन् ।

मृतकका परिवार र आफन्तजनले ‘लाश कसरी आयो र मृतकको कानूनी हैसियत के थियो’ भन्ने कुरामा भन्दा पनि ‘लाशसँग जोडिएर आएको लाखौँ रुपैयाँ’ को अवास्तविक आकाङ्क्षा राख्ने गरेकाले समस्या सिर्जना हुने धारणा लेखकले व्यक्त गरेका छन् ।

पुस्तकमा प्रस्तुत गरिएका धारणाहरू तथ्याङ्कको भरपर्दो पृष्ठभूमिमा सगरमाथा बनेर उभिएका छन् ।

आर्थिक वर्ष २०७६/७७ मा कतारका नेपालीले ५३ अर्ब ९३ करोड धनराशी रेमिट्यान्स नेपाल पठाएका रहेछन् । यसरी राज्यको वर्तमान पद्धति र आफ्नो दयनीय पारिवारिक पृष्ठभूमिमा आर्जन गरेको सामान्य शिक्षा र सीमित अनुभवका आधारमा ठूलो जोखिम उठाएर अत्यन्तै जटिल परिस्थितमा नेपालीजनहरू विदेशी भूमिमा रगतपसिना बगाइरहेका छन् । आफ्नो बलबुताले भ्याएसम्म सङ्घर्ष गरेका छन् ।

दुर्भाग्य ! राज्य उनीहरूप्रति उदासीन छ । यो चट्टान अब फोर्नु छ । कानूनी सम्मान र गर्वसाथ श्रम गर्न पाउने हरेक नेपालीजनको अधिकार सुनिश्चित गर्नु छ ।

नेपाली राजनेताहरूलाई मियाँको मूल सन्देश यही छ ।

मियाँले उठाएको अर्को महत्वपूर्ण विषय के हो भने लाखौँ नेपाली नागरिकले आधुनिक कतार निर्माणमा सहयोग गरे । नेपाली चेलीहरू कतारका नवजात शिशुहरूको स्याहार गर्ने धाईआमा बने । नेपालले राम्रो कूटनीतिक पहल गर्दा कतारले यो पर्मको मर्ममा पक्कै विचार गर्ने छ ।

जसको अलिकति भए पनि आफ्नो जग्गा छ, नाम मिलेको नागरिकता छ र इलम गरौँ भन्दा उपाय छ, त्यो नेपालीको सट्टा मुसहर समुदायको निमुखा युवकयुवतीलाई राज्यले सुविधा दिएर वा आवश्यक व्यवस्था मिलाएर वैदेशिक रोजगारीमा अवसर दिनु जरुरी छ ।

धाईआमाको अभिभारा कतारी सन्तानले पक्कै तिर्नेछन् । यसले कालान्तरमा नेपाल पनि हिमालयको कतार बन्न सक्नेछ ।

कतार पुगेर फर्केका नेपालीले रातदिन श्रम गरेर कमाएको सम्पत्ति र ठगिधन्धा गरेर वा तर मारेर आएको आम्दानीबीचको फरक थाहा पाएका छन् । बेइमान नेता र स्वार्थी झोलेहरूको रणनीति बुझ्ने भएर फर्केका छन् ।

यसकारण वैदेशिक रोजगारीबाट फर्केका नेपालीको जमात एउटा महत्वपूर्ण शक्ति हो । सम्भवत यसको परिचालन गरेर कतारी सद्भावले यसमाथि मूल्य थप गर्दा नेपालले पनि कतारले जस्तै विकासनिर्माणमा चमत्कार गर्ने बाटो खुल्न सक्छ ।

सिमराको मुसहर बस्तीको बीचमा रहेको एक चौतारीमा बसेर मियाँको पुस्तक पढ्दै गर्दा एक सरो लुगा लगाएर मेरा वरिपरि बालुवाका थुप्रामा धुलो मैलो भएका बालबालिका नियालेँ ।

जसको जग्गा छैन, बस्नलाई सुविधायुक्त घर छैन, नजिक सार्वजनिक विद्यालय छैन र नागरिकता लिँदा अन्यौल सिर्जना नगर्ने नाम पनि छैन, सम्भवत वैदेशिक रोजगारीका लागि सबैभन्दा उपयुक्त उम्मेदवार उही हुनेछ ।

जसको अलिकति भए पनि आफ्नो जग्गा छ, नाम मिलेको नागरिकता छ र इलम गरौँ भन्दा उपाय छ, त्यो नेपालीको सट्टा मुसहर समुदायको निमुखा युवकयुवतीलाई राज्यले सुविधा दिएर वा आवश्यक व्यवस्था मिलाएर वैदेशिक रोजगारीमा अवसर दिनु जरुरी छ ।

यसो भयो भने एक युवाले आफ्नो परिवारको उत्थान गर्ने बाटो खुल्छ ।

मैले सिमरामा यस्तै यस्तै कल्पना गरेँ र एक निचोडमा पुगेँ । कतारका सद्भावना दूत मियाँसँग मेरो भेट हुँदा तपसिलको प्रश्नमा उनको विचार बुझ्नेछु, ‘आर्थिक र सामाजिकरूपले विपन्न समुदायका युवालाई वैदेशिक रोजगारीमा पहिलो प्राथमिकता दिन के गर्नु पर्ला ?’