सांकेतिक तस्बिर

अन्तर्राष्ट्रिय

छत्तीसगढमा प्रहरी जवानले आफ्नै साथीलाई गोली हाने, चार जनाको मृत्यु

By खबरहब

November 08, 2021

काठमाडौँ– छत्तीसगढको सुकमा आइतबार राति केन्द्रीय रिजर्भ पुलिस फोर्स (सीआरपीएफ)का एक जवानले आफ्ना साथीहरूमाथि एके–४७ ले फायरिङ गरेका छन् ।

घटनामा चार जना जवानको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । यसमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

गम्भीर घाइतेहरूलाई हेलिकप्टरको माध्यमबाट रायपुर लगिएको छ । घटनापछि आरोपित जवानलाई हिरासतमा राखिएको छ । हालसम्म उनले किन गोली चलाए भन्ने खुल्न सकेको छैन । यो घटना कोटा विकासखण्डको ग्राम लिंगनपल्लीस्थित २१७ बटालियन क्याम्पमा भएको थियो । बिहान ३ बजेर १५ मिनेट जाँदा रितेश रञ्जन नाम गरेका जवानले साथीहरूमाथि फायरिङ गरेका थिए । गोली लागेर दुई जना जवानको घटनास्थलमै मृत्यु भएको थियो ।

यो क्याम्पमा ८५ औँ बटालियन जवानको पनि क्याम्प छ । राति गोली चलेपछि क्याम्पमा भागदौड मच्चिएको थियो । अन्य जवान दौडेर घटनास्थलमा पुगेपछि अफिसरहरूलाई जानकारी दिइएको थियो । त्यसपछि घटनामा घाइते भएका पाँचजना जवानलाई ११ किलोमिटर टाढा रहेको तेलंगानास्थित भद्राचलम अस्पताल लगियो । उपचारका क्रममा थप दुई जनाको मृत्यु भयो । घाइतेमध्ये दुई जना गम्भीर रहेकाले उनलाई रायपुर रेफर गरियो ।

बदलाको भावना वा मानसिक सन्तुलन बिग्रेको कारणले यो घटना भएको हुनसक्ने अनुमान गरिएको छ । एक दिनअघि मात्र आरोपितको उनको साथीहरूसँग विवाद भएको थियो । उनी केही दिनदेखि तनावमा रहेको पनि बताइएको छ ।