फाइल फोटो

राजनीति

सरकार सञ्चालनमा सहयोग गर्न गठबन्धनले बनायो ११ सदस्यीय समिति

By खबरहब

November 08, 2021

काठमाडौँ- सत्तारुढ गठबन्धनले सरकार सञ्चालनमा सहयोग गर्न ११ सदस्यीय समन्वय समिति बनाएको छ  । सोमबार साँझ बसेको सत्तारुढ गठबन्धनको बैठकले ११ सदस्यीय समन्वय समिति बनाएको हो ।

समन्वय समितिमा प्रधानमन्त्री शेरबहादुर देउवाबाहेक गठबन्धन आवद्ध दलका प्रमुख नेता हुनेछन् ।  समितिमा गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका २–२ जना सदस्य रहनेछन् ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार समितिमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौला सदस्य तोकिएका छन् । माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीबाट माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) बाट उपेन्द्र यादवको नाम दिइएको छ । बाँकी एक सदस्यको नाम पछि दिइने जनाइएको छ ।

समितिमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की हुनेछन् भने राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहेका छन् ।

समितिलाई न्यूनमत साझा कार्यक्रमको कार्यान्वयन गर्न सरकारलाई सहयोग गर्ने, राष्ट्रियताको रक्षा, संविधान र लोकतन्त्रको रक्षा तथा संस्थागत सुदृढिकरण, सुरक्षा, सुशासन, सेवा, विकास र संविधानअनुसार हुने चुनाव सफलतापूर्वक सम्पन्न गर्न सरकारलाई समन्वय गर्ने कार्यादेश दिइएको छ ।

सर्वोच्च विवादमा भएन गहन छलफल

बैठकमा सर्वोच्च अदालतमा जारी प्रधान्यायाधीश र न्यायाधीशहरूको विवादबारे गहन छलफल नभएको एक नेताले जानकारी दिए । बैठकमा यस विषयलाई प्रवेश गराउन दोस्रो तहका नेताले खोजे पनि शीर्ष नेताले नै यसमा अनिच्छा जनाएको स्रोतले जनाएको छ ।

गठबन्धनमा राष्ट्रियसभामा रिक्त हुन लागेका २० सदस्यको चुनावमा सहकार्य गरेरै अघि बढ्ने सहमति पनि जुटेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुनमा सकिँदैछ ।