राजनीति

औषधि व्यवस्था विभागको पुनःसंरचना गर्छौँ : मन्त्री खतिवडा

By खबरहब

November 08, 2021

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले औषधि व्यवस्था विभागको साङ्गठनिक संरचनाको सुधार गर्ने बताएका छन् ।

विभागले सोमबार आयोजना गरेको नेपालमा औषधि नियमनसम्बन्धी नीतिगत छलफलसम्बन्धी कार्यक्रममाम उहाँले पुरानो साङ्गठनिक संरचनामा काम गरिरहेको विभागको पुनःसंरचना आवश्यक रहेको बताए । उनले दरबन्दी थप गरेर विभागको क्षेत्रलाई व्यापक बनाउने समेत बताए ।

उनले औषधिको मूल्य समायोजन वैज्ञानिक आधारमा गर्नेबारे मन्त्रालयमा छलफल भइरहेको धारणा राखे । मन्त्री खतिवडाले सबैलाई सहज हुने गरी औषधिको मूल्य निर्धारण हुने बताए ।

कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सीमित दरबन्दीमा सञ्चालन भएको विभागको दरबन्दी बढाउनुपर्ने बताए । उनले औषधिको मूल्य समायोजनका लागि समिति गठन गर्ने जानकारी दिए ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले कम जनशक्तिका कारणले विभागले औषधिको अनुगमन गर्न नसकेको बताए । उनका अनुसार २०३६ सालमा स्थापना भएको विभागमा ११५ जना दरबन्दीमा ७६ जना मात्र कर्मचारी रहेका छन् ।

उनले २०७२ सालमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरेर ३२८ जनाको दरबन्दी प्रस्ताव गरे पनि अझै स्वीकृत नभएको बताए । उनले कम दरबन्दीले गर्दा विभागले राम्रोसँग काम गर्न नसकेको बताए । विभागमा २० हजार ब्रान्डका औषधि र १५ हजार व्यवसायी दर्ता भएका छन् ।