राजनीति

सभापतिमा साझा उम्मेदवार टुंग्याउन संस्थापनइतरको बैठक बस्दै

By खबरहब

December 08, 2021

काठमाडौँ – १४औँ महाधिवेशनको दुई दिन बाँकी रहँदा नेपाली कांग्रेसमा उम्मेदवारको टुंगो लगाउन आन्तरिक बैठकहरु लगातार बस्न थालेका छन् ।

संस्थापन पक्षबाट सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पुनः सभापतिमा भिड्ने भएपछि संस्थापनइतर समूह साझा उम्मेदवारको टुंगो लगाउन लागिपरेको छ ।

पछिल्लो तीन दिनदेखि दुबै समूहमा औपचारिक छलफल भइरहे पनि अझै सभापतिका लागि साझा उम्मेदवारको टुंगो लागेको छैन ।

केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र डा शेखर कोइरालाले सभापतिमा आफ्नो अडान कायमै राखेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशांक कोइरालाले इतरपक्षबाट एक जना मात्रै उम्मेदवार भए आफू पछि हट्न सक्ने बताएका छन्।

वरिष्ठ नेता पौडेलले बुधबार साँझसम्म निर्णयमा पुग्ने बताएका छन् । उनले भने, ‘सहमतिको निकै नजिक पुगेका छौँ। सबै कोणबाट छलफल गर्यौं। बुधबार साँझसम्म निर्णयमा पुग्छौँ ।’

संस्थापनइतर पक्षले आज पूर्वजिल्ला सभापति, निर्वाचित जिल्ला सभापति र प्रदेश सभापतिसँग परामर्श गर्दैछ।