रोचक/विचित्र संसार

विवाह मण्डपबाट उठेर बेहुली प्रहरी भ्यानको पछिपछि दौडिइन्, कारण यस्तो

By खबरहब

December 08, 2021

विवाहको समारोहमा खुसी र रमाइलोको माहौल हुन्छ । यस समारोहमा बेहुला, बेहुलीसँगै उनका आफन्तजनले निकै रमाइलो गर्दछन् । तर इक्वाडोरको एक विवाह समारोहमा भने बेहुली विवाह मण्डपबाट उठेर प्रहरीको गाडी पछिपछि दौडिन पुगिन् ।

दक्षिण अमेरिकी देश इक्वाडोरमा एक विवाह समारोह चलिरहेको थियो । सबै निकै खुसी थिए । तर अचानक विवाह स्थलमा आएको प्रहरीले बेहुलालाई नियन्त्रणमा लिई प्रहरी भ्यानमा चढाएर लगे । प्रहरीले विवाह स्थलबाटै बेहुला लगेपछि बेहुली पनि मण्डपबाट उठेर प्रहरीको भ्यान पछिपछि दौडिइन् ।

यो घटना इक्वाडोरको दक्षिण तटीय राज्य एलओरोको एल गुआबो नामक स्थानमा भएको हो । बेहुलालाई पक्राउ गरेपछि अन्य आफन्तजनले प्रहरीलाई उनलाई छोड्न आग्रह गरे । तर बेहुली भने रिसले प्रहरीमाथि चर्किदै कराउन थालिन् । जसका कारण प्रहरीले बेहुलालाई चौकी लगे ।

प्रहरीले ती बेहुलालाई पक्राउ गरी लानुमा उनले आफ्नी पहिलो श्रीमतीलाई गुजारा भत्ता नदिएको आरोप लागेको थियो । यही विषयमा उनलाई पक्राउ गरी चौकी पुराइएको थियो । ती बेहुलाले पहिलो श्रीमतीका बच्चालाई समेत कुनै आर्थिक मद्दत नगरेको मुद्दा लागेको थियो ।