दोहा – कतारस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कतारमा अवैध रूपमा कार्यरत नेपाली श्रमिकलाई यहाँको सरकारले दिएको आममाफी लक्षित सचेतनात्मक कार्यक्रम गर्ने भएको छ ।
दूतावासले एक सूचना जारी गर्दै नेपाली दूतावास दोहा र एनआरएनए कतारको संयुक्त आयोजनामा १० डिसेम्बर अर्थात् शुक्रबारका दिन कतारमा अवैध रूपमा रहेका नेपाली आप्रवासीहरुलाई वैध हुनका लागि कतार सरकारले हाल लागू गरेको व्यवस्थासम्बन्धी सचेतनामूलक कार्यक्रम तय भएको जनाएको छ ।
कतारमा रहेका सम्बन्धित सबै नेपालीहरूको सहभागिताको लागि दूतावासले अनुरोध गरेको छ । कार्यक्रममा जुममार्फत् वा दूतावासको आधिकारिक फेसबुक पेजबाट हुने लाइभ प्रसारणमार्फत पनि सहभागी हुन सकिने छ ।
कतार सरकारले सन् २०१५ को कानुन नम्बर (२१) को प्रावधान उल्लङ्घन गरी बसोबास गरिरहेका आप्रवासीहरूलाई समयमै आममाफी दिएसँगै दूतावासले नेपाली श्रमिक लक्षित कार्यक्रम गर्न लागेको हो ।
अवैध रूपमा बसेका आप्रबासीहरुले देशभित्रको कानुनी स्थिति सच्याउने र उनीहरूलाई सबै कानुनी जिम्मेवारीबाट छुट दिई देश छाड्न दिइने कतार सरकारको नीति रहेको छ । आममाफीको समय अवधि १० अक्टोबरदेखि सुरु भएको र ३१ डिसेम्बरमा समाप्त हुनेछ ।
कतार सरकारको निर्णय गरेसँगै यहाँ गैरकानुनी रूपमा बसेका थुप्रै नेपाली श्रमिक लाभान्वित हुने अपेक्षा गरिएको छ । कतारमा अहिले विभिन्न क्षेत्रमा गरी ३ लाख १२ हजार ६५० नेपाली कानुनी रूपमा कार्यरत छन्। जसमा ११ हजार ९० जना महिला पनि कार्यरत छन् ।