राजनीति

कांग्रेसको संस्थापन इतर समूहको बैठक जारी

By खबरहब

December 08, 2021

काठमाडौँ – १४औँ महाधिवेशनका लागि सभापतिको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक जारी छ ।

बत्तिसपुतलीको अनुपम फुडल्याण्डमा जारी बैठकमा पौडेल पक्षका निवर्तमान जिल्ला सभापति, वर्तमान जिल्ला सभापति, केन्द्रिय सदस्यलगायत शीर्ष नेताहरुबिच छलफल भइरहेको छ ।

साझा सभापतिको टुङ्गो लगाउन अन्य नेताहरुलाई जिम्मा दिएर वरिष्ठ नेता रामचन्द्र पौडेल बैठेक बाहिरिएका छन् ।

संस्थापन पक्षबाट सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पुनः सभापतिमा भिड्ने भएपछि इतर समूह साझा उम्मेदवार टुंगाउन लागेको हो ।

पछिल्लो तीन दिनदेखि दुबै समूहमा औपचारिक छलफल भइरहे पनि अझै सभापतिका लागि साझा उम्मेदवारको टुंगो लागेको छैन ।

केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र डा शेखर कोइरालाले सभापतिमा आफ्नो अडान कायमै राखेका छन्। वरिष्ठ नेता पौडेल र महामन्त्री डा शशांक कोइरालाले इतरपक्षबाट एक जना मात्रै उम्मेदवार भए आफू पछि हट्न सक्ने बताएका छन्।