छोरा जन्माउन नसकेको भन्दै परिवारको सहयोगमा श्रीमतीको हत्या

By खबरहब

November 09, 2021

जनकपुरधाम– धनुषाको सबैला नगरपालिकामा एक श्रीमानले छोरा जन्माउन नसकेको भन्दै श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ । सबैला नगरपालिका-३ का ३५ वर्षीय लालबाबु साफीले ३० वर्षीया श्रीमती अजमेरी खातुनको घाँटी थिचेर हत्या गरेको पीडित परिवारले आरोप लगाएको छ ।

१३ वर्षअघि प्रेम विवाह गरेकी अजमेरीलाई लामो समयदेखि छोरा नजन्माएको र दाइजोको विषयलाई लिएर साफी र उनका बहिनी नुरजहा खातुन, दाइ मन्जुर साफीले मानसिक तनाव दिँदै आएको मृतक खातुनको बुबा मोहम्मत आलमले बताए ।

८ कात्तिकमा राति रक्सी खाएर साफीले घरमा सुतिरहेको छोरीलाई घाँटी थिचेर हत्या गरेको उनले आरोप लगाए । मृतकको घाँटीसहित शरिरभरि निलडाम देखिएको उनले बताए । किटानी जाहेरी दिए पनि प्रहरीले दोषी पक्राउमा चासाे नदेखाएको मृतककी आमा गुलशन खातुनले आरोप लगाइन् ।

ईलका प्रहरी कार्यालय सबैलाका प्रहरी उपरीक्षक राजेश सिग्देलले घटनामा भएलगतै मृतकका श्रीमान लालबाबु साफीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताए । घटनाका थप आरोपीको खोजी कार्य भइरहेको बताउँदै निरीक्षक सिग्देलले भने,‘ चाडपर्वको कारण घटनाको अनुसन्धान केही प्रभावित हुन पुगेको छ । अब तदारूकताका साथ अनुसन्धानलाई अगाडि बढाउँछौ ।’ न्यूज कारखानाबाट