देश/प्रदेश

जनगणनाका लागि अछाममा तीन सय गणक खटाइने

By खबरहब

November 09, 2021

अछाम– राष्ट्रिय जनगणनाका लागि अछाममा गणक खटाउने तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला जनगणना कार्यालय अछामका अनुसार गणकलाई चार दिने तालिम दिइसकेको छ ।

जनगणनाका लागि खटिने गणकलाई आवश्यक पर्ने सबै विषय बारे तालिममा सिकाएको जिल्ला जनगणना कार्यालय अछामका जनगणना अधिकारी प्रकाश विष्टले बताए । जनगणनालाई प्रभावकारी रूपमा सञ्चालन गरी सम्पन्न गर्न अछामका १० स्थानीय तहलाई मध्ये पाँच स्थानीय तहमा अस्थायी कार्यालय समेत सञ्चालन गरिएको उनले जानकारी दिए ।

जिल्लाको मेल्लेख गाउँपालिका, चौरपाटी गाउँपालिका र साँफेबगर नगरपालिका हेर्ने गरी साँफेबगरमा अस्थायी कार्यालय स्थापना गरिएको छ । मंगलसैन नगरपालिका, रामारोशन गाउँपालिका र बान्नीगढी जयगढ गाउँपालिका हेर्ने गरी मंगलसैनमा अस्थायी कार्यालय संचालन गरिएको छ भने कमलबजार नगरपालिका र पञ्चदेवल विनायक नगरपालिका हेर्ने गरी विनायकमा कार्यालय स्थापना गरिएको जनगणना अधिकारी विष्टले बताए ।

तुर्माखाँद गाउँपालिका र ढकारी गाउँपालिकालाई हेर्ने गरी तुर्माखाँदमा कार्यालय स्थापना गरिएको छ । जनगणना अधिकारी प्रकाश विष्टले २५ कात्तिकदेखि ९ म‌ंसिरसम्म हुने जनगणनाका लागि अछाममा तीन सय एक गणक खटाउने तयारी भएको बताए ।

गणकहरूले जिल्लाका ५० हजार घरपरिवारबाट विवरण संकलन गर्नेछन् । पहिलो चरणमा घरधुरी सङ्ख्या, महिला पुरुष र अन्यको सङ्ख्या, वित्तीय पहुँचको अवस्था, कृषिबारे सामान्य विवरण सङ्कलन गर्ने र घर नम्बर राख्ने काम पूरा भएको उनले बताए । गणकहरूले विस्तृत विवरणसहित जाति, धर्म, संस्कृति, शैक्षिक योग्यता र आर्थिक गतिविधिका बारेमा अब प्रश्न सोध्ने र विवरण राख्ने गर्छन ।