समाचार

एमाले महाधिवेशनको गैंडाको मस्कट बेवारिसे, मस्कटलाई पछाडि पारेर चितवन महोत्सव

By खबरहब

December 09, 2021

चितवन– नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा राखिएको गैंडाको मस्कट बेवारिसे बनेको छ । साढे तीन लाख रुपैयाँ खर्चिएर बनाइएको गैंडाको मस्कट एमालेको महाधिवेशन सकिएपछि बेवारिसे बनेको हो ।

गैंडाको मस्कटले कम्युनिष्ट पार्टीको झण्डा बोकेको जस्तो देखिने गरी एमालेले महाधिवेशनको लोगो बनाएको थियो । सोहीअनुसार गैंडाको मस्कटको मूर्ति नै बनाएर महाधिवेशन उद्घाटन स्थलमा राखिएको हो ।

मस्कटलाई नदी किनारको उत्तरतर्फ पुछारमा राखिएकाले नदी किनारमा पुग्ने पर्यटकहरू त्यहाँसम्म पुगेकै हुँदैनन् । बर्खामा नारायणीमा आउने बाढीले गैंडाको मस्कट बगाएर लैजाने जोखिम पनि उत्तिकै छ ।

२५ पुसदेखि ४ माघसम्म नारायणी नदी किनारमा हुन लागेको चितवन महोत्सवको मञ्च पनि मस्कटलाई पछाडि पारेर बनाइँदै छ । उद्योग वाणिज्य संघ चितवनले १३औँ संस्करणको चितवन महोत्सव गर्न लागेको हो ।

महोत्सवका लागि छेकबार, मैदान व्यवस्थापन र स्टल निर्माणको काम सुरू भएको छ । एमालेले मञ्च बनाएको स्थानमा बालुवा रहेकाले त्यस ठाउँलाई छाडेर मञ्च बनाउन लागिएको उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले बताए ।

‘मञ्च निर्माण गर्दा पहिलादेखिको हाम्रो प्लानभन्दा बाहिर गयो भने बालुवा मात्र छ । अहिले सुरक्षाका लागि बनाइएको छेकबारभन्दा पछाडि बालुवा भएको ठाउँमा बालउद्यान हुन्छ । बाल उद्यानमा जानका लागि ३० देखि ४० फिटको गेट बनाउछौँ’, उनले भने ।

बाल उद्यानभन्दा पछाडि अर्को छेकबार बनाइनेछ । मञ्च र बालउद्यानको बीचमा गैंडाको मस्कट पर्ने देखिन्छ । नेकपा एमालेले महाधिवेशनमा मञ्च बनाएको स्थानमा महोत्सवको बाल उद्यान बनाइने भएको हो । अहिले बालउद्यान बनाउने स्थानलाई छाडेर छेकबार लगाएर मैदान व्यवस्थापनको काम गरिँदै छ ।

एमालेले महाधिवेशनमा गैंडाको मस्कटलाई मञ्चको पश्चिमतर्फ राखेको थियो । महाधिवेशन सकिएपछि पार्टीको झण्डा निकालेर मस्कटमा नेपालको झण्डा राखिएको छ । मस्कटले पनि नदी किनारमा पुग्ने पर्यटकलाई आकर्षित गर्ने अपेक्षा छ । चितवन महोत्सवमा अवलोकनकर्तालाई आकर्षित गर्ने खालका विभिन्न प्रदर्शनी र खेलहरू खेलाइन्छ । न्यूजकारखाना