काठमाडौँ– प्रेस स्वतन्त्रताका निम्ति लडेकी मारिया रेसाको सर्वत्र चर्चा छ यति बेला । लामो समयदेखि पत्रकारितामार्फत भ्रष्टाचार, मानवअधिकार हनन् र असमानताविरुद्ध लडेकी रेसाले अहिले नोबेल शान्ति पुरस्कार पाएकी छिन् । उनले फिलिपिन्समा प्रेस स्वतन्त्रता जोखिममा परेको समयमा पनि सबैले सुशिक्षित हुन पाउने हकका लागि सङ्घर्ष गरेकी थिइन् ।
रेसाले यो महत्वपूर्ण सफलता पाउँदा फिलिपिन्सका राष्ट्रपति रुड्रिगो डुटरेट र उनका समर्थकले रेसाले आफ्नो अनलाइन पोर्टल यार्पलरमार्फत गलत समाचार प्रकाशित गरेको आरोप लगाएका छन् ।
फिलिपिन्समा जन्मिएकी रेसा ७० को दशकको सुरुवातमा फर्डिनान्ड मार्कोसले मार्सल ल लागु गरेपछि अमेरिका पुगेकी थिइन् । अमेरिकामा उनले प्रिन्सटन विश्वविद्यालयमा अध्ययन गरिन् । पढाइ सकिएपछिको अवस्थाबारे उनले भनेकी थिइन्, ‘अमेरिकामा रहनका म अमेरिकीजस्तो थिइनँ । फिलिपिन्समा म फिलिपिनो जस्तो पनि थिइनँ ।’
सन् १९८६ मा फिलिपिन्सवासीले सङ्घर्ष गरेर मार्कोसलाई सडकमा ल्याएपछि मारिया स्वदेश फर्किन् । स्वदेश फर्केपछि उनी धेरै कुराले सोचमग्न भइन् । ‘बाफ रे ! कसैले मलाई लेख्नका लागि पैसा दिन्छ’ करियरको सुरुवातमै उनले हालका राष्ट्रपति डुटरेटलाई भेटेकी थिइन् । त्यति बेला डुटरेट डभाओ सहरका मेयर थिए ।
रेसाले थुप्रै सञ्चार माध्यमका माथिल्लो तहमा रहेर पत्रकारिता गरिन् । सीएनएनको फिलिपिन्स र इन्डोनेसियाको ब्युरो प्रमुख भइन् । उनी फिलिपिन्सको टिभी च्यानल एबीएस–सिबीएनको समाचार शाखाको प्रमुख पनि भइन् ।
सुन् २०१२ मा उनले यार्पलर स्थापना गरिन् । यसैका लागि २० जना एकसे एक पत्रकारलाई आफ्नो सञ्चारमाध्यममा स्थान दिइन् । सामाजिक सञ्जालमा पनि आक्रामक ढङ्गले प्रस्तुत भएको यो पोर्टलमा ४५ लाख फलोअर छन् । खोजमूलक समाचार र गहिरो विश्लेषणका कारण यो सुरुदेखि नै चर्चामा रह्यो ।
सन् २०१५ मा तत्कालीन मेयर डुटरेटले रेसामाथि तीन जनाको ज्यान लिएको आरोप लगाएपछि यो पोर्टलमा धेरैको ध्यान केन्द्रित भएको थियो । उनी लगातार सञ्चार क्षेत्रको केन्द्रमा रहिन् । फिलिपिन्समा उनलाई विश्वास गर्नेको जमात पनि बढ्दै गयो । यसै कारण यार्पलरको लोकप्रियता एकपछि अर्को चुलिँदै गयो ।
यही क्रममा उनको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा अन्तर्राष्ट्रिय व्यक्तित्वसँग सम्पर्क सुरु भएको हो ।
मनिलामा रहेका बीबीसीका पत्रकार हवार्ड जोन्सनका अनुसार तीक्ष्ण विश्लेषण क्षमता भएका कारण रेसाका प्रशंसकको संख्या बढेको हो । आफ्ना श्रोताका माझ राम्रोसँग विश्लेषण प्रस्तुत गर्न सक्ने खुबी भएकी रेसाले सामाजिक सञ्जालमार्फत पनि आफ्नो प्रभाव छाडेकी थिइन् ।
राष्ट्रपति डुटरेट र उनको राजनीतिको आलोचना गर्ने थोरै सञ्चारमाध्यममध्ये यार्पलर एक थियो । रेसाले सामाजिक सञ्जालमा पनि सरकारको प्रोपोगान्डाका बारे समाचार लेखेकी थिइन् । सरकारको नारीद्वेषी नीति, मानव अधिकार उल्लङ्घन र भ्रष्टाचारका विषयहरूमा यार्पलरको रिपोर्टिङ केन्द्रित हुने गरेको थियो ।
डुटरेटले यार्पलरका रिपोर्टरलाई सन् २०१८ मा थर्काएको धेरैलाई सम्झना छ । सरकारको कटु आलोचक रहेका यार्पलरका सञ्चारकर्मी आफैँ पनि स्वच्छ नभएको आरोप डुटेरटले लगाउँदै आएका थिए । सोही वर्ष डुटेरटले यार्पलरका सञ्चारकर्मीलाई सरकारको कार्यक्रममा प्रतिबन्ध लगाए ।
यसपछि रेसामाथि थुप्रै आरोप लगाए । सन् २०२० मा साइबर क्राइममा मुद्दा चलाए पनि उनी यसमा निर्दोष ठहरिइन् । उनलाई कर छलीको आरोप र विदेशी लगानीको आरोपमा मुद्दा चलाइएको थियो । यी सबैमा न्यायालयले उनलाई निर्दोष ठहर गरेको छ ।
रेसालाई प्रेस स्वतन्त्रताको प्रतीक ठान्दै अधिकारकर्मी अन्तर्राष्ट्रिय समुदायले निरन्तर साथ दिइह्यो । उनका पक्षमा आवाज उठिरह्यो ।
रेसाले फिलिपिन्समा पत्रकारको दुर्दशाको प्रतिनिधित्व गरेकी थिइन् । पत्रकारिताको सनसनीपूर्ण यात्राको बीच उनी सन् २०१८ मा टाइम पर्सन अफ द इयर घोषित भएकी थिइन् । शक्तिको दुरुपयोग, अशान्ति र बढ्दो अप्रजातान्त्रिक गतिविधिको विरुद्धमा कलम चलाए बापत उनलाई यो अवार्ड दिइएको हो ।
सेन्सरसीप म्यागेजिनका रोचल जोलीले रसाको नाम सर्वत्र परिचित हुनुअघि नै रेसालाई भेटेका थिए । सोही समयमा उनले सरकारको दबाबका बाबजुद सशक्त रूपमा प्रस्तुत हुने जनाएकी थिइन् ।
रेसा आक्रामक ढङ्गले प्रस्तुत हुनुअघि डुटरेट फिलिपिन्समा अत्यन्त सफल थिए । यसै कारण सुरुमा दिनका सामाजिक सञ्जालमा उनीमाथि धेरै आक्रमण भएको थियो ।
फिलिपिन्सलाई अझ नजिकबाट हेर्नेहरू डुटरेटको मोनोपोलीको निगरानी गर्न यार्पलर आवश्यक रहे पनि फिलिपिन्समै रेसाभन्दा डुटरेटलाई मन पराउने बढी भएको बताउँछन् ।
रेसासँगै शान्ति नोबेल पुरस्कार पाउने रुसी पत्रकार डिमिट्री मुराटोभले १९९३ मा प्रजातन्त्रको वकालत गर्ने गरी नोभाया गजेटा पत्रिका प्रकाशन गरेका थिए । यो पत्रिकामा पनि सरकारको भ्रष्टाचार र मानवअधिकार उल्लङ्घनका समाचारले बढी स्थान पाउँथे । सन् १९९५ देखि २०१७ सम्म उनी सो पत्रिकामा प्रधान सम्पादक थिए ।
फिलिपिन्सकी मारिया रेसा र रुसका डिमिट्री मुराटोभले यस वर्षको नोबेल शान्ति पुरस्कार पाउने भए । दुवै जना पत्रकार हुन् जसले मानवअधिकार र प्रजातन्त्रका लागि पत्रकारितामार्फत आफूलाई समर्पण गरे । भ्रष्टाचारविरुद्ध लडे । अन्ततः विश्वकै प्रतिष्ठित पुरस्कारका लागि छानिए ।
उनले त्यसै पत्रिकामा अन्ना पोलिट्सकाभ्याको लेख प्रकाशित गरेका थिए । सो लेखले भ्लादिमिर पुटिनको पनि टाउको दुखाएको थियो । रुसमा सरकारप्रति आलोचनात्मक रहेका सीमित पत्रिकामध्ये उनले प्रकाशन गरेको पत्रिका अग्रस्थानमा छ ।
रेसाले पाएको नोबेल पुरस्कार अन्य विविध कारणले अर्थपूर्ण रहेको छ । बेलारुसी नेता स्टिभलाना सिहानाउसाकाया र ग्रेटा थर्नबर्ग पनि यो पुरस्कारका दाबेदार थिए । यी दुवैलाई पछि पार्दै रेसा र डिमिट्री मुराटोभले संयुक्त रूपमा यो पुरस्कार पाएका हुन् ।
यस वर्ष पाँच विधामा कुल १० जनाको नाम घोषणा हुँदा रेसामात्र महिला हुन् । यो वर्ष आर्डम पाटापोउसियन र डेभिड जुलियसले चिकित्साशास्त्रको नोबेल पुरस्कार पाए । जर्जियो पारिसी, स्याकुरो मनाबे र क्लाउस हासेलमानले भौतिकशास्त्रमा नोबेल पुरस्कार पाए । यिनीहरूले जलवायुको विषयमा गरेको कामका लागि यो पुरस्कार पाएका हुन् ।
मोली क्यु टुलका लागि काम गरेका कारण बेन्जामिन लिस्ट र डेभिड म्याकमिलनले रसायन शास्त्रको नोबेल पुरस्कार पाए ।
तान्जानियाका ७२ वर्षीय उपन्यासकार अब्दुल रजक गुरनाहले साहित्यको नोबेल पुरस्कार पाए । साहित्यमा नोबेल पुरस्कार जित्ने अफ्रिकाको सब सहारा क्षेत्रका उनी दोस्रो अश्वेत लेखक हुन् । यसअघि सन् १९९३ मा टोनी मोरिसनले यो पुरस्कार पाएका थिए ।
शान्ति नोबेल पुरस्कारको घोषणापछि अर्थशास्त्रको पुरस्कार घोषणा हुन बाँकी छ । नोबेल कमिटी महिलाको नेतृत्वमा रहेको छ र यसका बहुसंख्ययक महिला नै रहेका छन् । यसका बाबजुद नोबेल पुरस्कार भने युरोप र उत्तर अमेरिकाका पुरुषले नै धरै पाउने गरेका छन् । चिकित्साशास्त्र, भौतिकशास्त्र र रसायनशास्त्रमा अश्वेतले यो पुरस्कार पाएको पनि दुर्लभ नै छ ।
यो वर्षको पुरस्कारमा धेरैको असहमति पनि रहेको छ । महिलालाई बेवास्ता गरिएको गुनासोसहित धेरैको छ । बोस्टन युनिभर्सिटी स्कुल अफ पब्लिक हेल्थकी सहायक प्राध्यापक एली मुरे कोरोना महामारीको बाटो नै फेर्ने गरी एमआरएनए भ्याक्सिन बनाउन काटालिन काराको र किज्मेकिया कोर्बोटले गरेको योगदान नोबेल कमिटीले बेवास्ता गरेको आरोप लगाउँछिन् ।
नोबेल पुरस्कारको परम्परा हेर्नेहरू काराको र कोर्बोटको योगदानलाई भविष्यमा पनि ध्यान दिन सकिने बताउँछन् । नोबेल पुरस्कार लामो समयको सक्रियता र योगदान हेरेर प्रदान गरिने भएकाले कोरोना महामारी नियन्त्रणमा उनीहरूको भूमिकालाई आगामी वर्षहरूमा पनि सम्बोधन हुन सक्नेछ ।
नोबेल एसेम्ब्लीका प्रमुख जेस्पर हेगस्ट्रमले विज्ञानको क्षेत्रमा महिलाको उपस्थिति पुरुषको भन्दा कम भएका कारण पुरस्कार पनि पुरुषले बढी पाएको बताउँछन् ।
चिकित्साशास्त्रको छनोट कमिटीमा रहेका प्रोफेसर मध्य २५ प्रतिशतमात्र महिला भएकोमा पनि धेरैको गुनासो रहेको छ । यसैगरी, भौतिक रोयल स्वीडिस एकेडेमी अफ साइन्सको भौतिकशास्त्र कमिटीमा ६ जना छन् । ती सबै पुरुष हुन् । यसका साथै रसायनशास्त्रको कमिटीका ६ जना नै पुरुष छन् ।
धेरै भूगोल र महिलाहरूको उत्साहजनक उपस्थिति नभएको कारण यदाकदा आलोचना भए पनि दुई पत्रकारले शान्तिको पुरस्कार पाउनु महत्त्वपूर्ण हो । मानव अधिकारलाई बलियो बनाउने र राज्य संरक्षित भ्रष्टाचार बाहिर ल्याउन यी दुईले गरेको कार्य संसारका धेरै देशका सञ्चारकर्मीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । फिलिपिनो मारिया रेसाको सङ्घर्ष त अझ धेरैका लागि प्रेरणादायी हुन सक्छ । –एजेन्सीहरूको सहयोगमा