सांकेतिक तस्बिर

समाचार

कोभिड प्रभावित परिवारलाई खाद्यान्न वितरण

By खबरहब

October 10, 2021

काठमाडौँ- वीरेन्द्रनगर नगरपालिकामा कोरोना भाइरसबाट प्रभावित परिवारलाई खाद्यान्न तथा सरसफाइ सामग्री वितरण गरिएको छ ।

दलित महिला सङ्घ जिल्ला शाखा सुर्खेतको सहयोगमा आज कोभिडबाट अति प्रभावित, विपन्न, अशक्त, एकल, ज्येष्ठ नागरिक, लक्षित दलित महिला समूहलाई ती सामग्री वितरण गरिएको हो ।

नगरका अतिप्रभावित १०० परिवारलाई चामल, दाल, नुन, तेल र मास्क वितरण गरिएको छ । दलित महिला सङ्घका सचिव खगीसरा वलीले यसअघि भेरीगङ्गा नगरपालिकामा पनि अतिप्रभावित एवं अतिविपन्न परिवार गरी १०० परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरिएको जानकारी दिइन् ।

अतिविपन्न दलित समुदाय र कोरोनाबाट रोजगारी गुमेका परिवारलाई दसैँमा अतिआवश्यक खाद्य सामग्रीको कमी नहोस् भन्ने उद्देश्यले सहयोग प्रदान गरेको उनको भनाइ छ ।

राहत वितरण गर्दै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले विपन्न, गरिब दलित महिला, ज्येष्ठ नागरिक, एकल महिला तथा कोभिडबाट प्रभावित परेका व्यक्तिलाई सहयोगको खाँचो रहेको र दलित महिला सङ्घ सहयोगी बनेकामा प्रसंशा व्यक्त गरे ।

उनले प्राप्त सामग्रीको सही सदुपयोग गर्न र कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सावधानी अपनाउन स्थानीयवासीलाई आग्रह गरे । उपप्रमुख ढकालका साथै सङ्घका अध्यक्ष मञ्जु सुनार र वडा नं ४ का वडाध्यक्ष नीलकण्ठ खनालले खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरेका थिए ।