अन्तर्राष्ट्रिय

एक वर्षदेखिको आन्दोलन अन्त्य भएको भारतीय किसानको घोषणा

By खबरहब

December 10, 2021

एजेन्सी – भारतीय किसानहरूले एक वर्ष लामो आम प्रदर्शन अन्त्य भएको बताएका छन् । सरकारले विवादास्पद कृषिसम्बन्धी कानुन खारेज गरेको एक सातापछि किसानहरूले पनि आन्दोलन अन्त्य भएको घोषणा गरेका हुन् ।

सरकारले ल्याएको कृषिसम्बन्धी कानुनको विरोधमा हजारौँ किसानहरू राजधानी नयाँ दिल्लीको सीमा क्षेत्रमा विगत एक वर्षदेखि प्रदर्शन गर्दै आएका थिए । प्रदर्शनका क्रममा गर्मी, ठन्डी तथा कोभिडका कारण दर्जनौँ किसानहरुको मृत्यु भएको थियो । शनिबारदेखि किसानहरू आआफ्ना घरमा फर्किने भएका छन् ।

किसान आन्दोलन प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारलाई ठुलो चुनौती साबित भएको थियो । किसानहरूका अन्य समस्या सम्बोधन गर्न र उत्पादित बस्तु तथा सेवाको मूल्य सुनिश्चित गर्न सरकार सहमत भएपछि किसानहरूका विभिन्न सङ्गठनले एक वर्षदेखिको आन्दोलन समाप्त भएको बताएका छन् । आन्दोलनरत किसानहरूमाथि लगाइएको मुद्दा पनि फिर्ता गर्न सरकार सहमत भएको छ ।

‘१५ जनवरीमा एउटा समिक्षा बैठक आयोजना गरेका छौँ । प्रतिबद्धता जनाए बमोजिम सरकारले हाम्रा माग पुरा गरेन भने हामी पुनः आन्दोलनमा फर्किनेछौँ,’ किसान नेता गुर्नाम सिंह चरुनीले स्थानीय सञ्चार माध्यमलाई भने ।