राजनीति

उम्मेदवार टुंगाउन देउवा आन्तरिक परामर्शमा, पौडेल पक्षीय नेताहरु छुट्टै छलफलमाा

By खबरहब

December 10, 2021

काठमाडौँ – १४औँ महाधिवेशन उद्घाटनको केहि घण्टाअघि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारमा आन्तरिक परामर्शमा छन् ।

पदाधिकारीमा उम्मेदवारका आकांक्षी बढी भएपछि सकस भइरहेका बेला देउवाले आफू पक्षीय पदाधिकारी र नेताहरूसँग आन्तरिक परामर्श गरिरहेका हुन् ।

स‌ंस्थापन पक्षबाट देउवा सभापतिका उम्मेदवार भए पनि सबैभन्दा बढी चासो महामन्त्रीमा छ । महामन्त्रीमा बालकृष्ण खाँण, ज्ञानेन्द्र कार्की, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, एनपी साउँद लगायतले दाबी गरिरहेका छन् ।

नेता कृष्ण सिटौला समूहले पनि संस्थापन पक्षतिर झुकाव राखेकाले उक्त समूहलाई मिलाउनुपर्ने बाध्यता देउवालाई छ । सिटौलाले उपसभापतिसहितका पद मागिरहेका छन् । उक्त समूहबाट प्रदीप पौडेल पनि महामन्त्रीका आकांक्षी हुन् ।

त्यस्तै, सभापतिको साझा उम्मेदवारबारे निर्णय गर्न नसकेको संस्थापन इतरको पनि आज बैठक बस्दैछ । संस्थापन इतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेलसहित प्रकाशमान सिंह, शेखर कोइराला तथा शशांक कोइरालाले सभापतिमा दाबी गरिरहेका छन्।

सहमति जुटन नसकेपछि सिंहले शनिबार उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने बताइसकेका छन् । शेखरले पनि सामाजिक सञ्जालमा ‘एक पटक यसै पटक’ भन्दै प्रचार अभियान थालिसकेका छन् । जसले पौडेल पक्षलाई साझा उम्मेदवार बनाउनै मुस्किल परेको छ ।