समाचार

म्यानमारको कारुणिक घटना: सोधपुछ कक्षदेखि जेल जीवनसम्मको यातना

By मनोज घिमिरे

December 10, 2021

सन् २०२१ को लगभग अन्त्यमा हामी आइपुगेका छौँ । गतवर्ष संसारकै राजनीति पृथक् ढङ्गले मोडियो । यसवर्ष निर्वाचित सत्ता माथिको सैन्य हस्तक्षेप, मानव अधिकारको हनन र महिला हिंसाका घटना अधिक भए ।

म्यानमार, चीन र अफगानिस्तानमा भएको मानव अधिकारको हनन, लैङ्गिक हिंसा र भेदभावले त्यहाँको जनजीवनलाई नै दु:खद बनायो ।

यस क्रममा फेब्रुअरीमै निर्वाचित सरकारलाई अपदस्थ गरेर सेनाले सत्ता हातमा लिएपछि म्यानमारको अवस्था दिन प्रतिदिन खराब मात्र बनेन सुन्दै आँसु बग्ने दु;खद घटना र नियति त्यहाँका बासिन्दाले भोग्नुपर्ने अवस्था आयो ।

म्यानमारमा सैनिक कु गरेर त्यहाँको सेनाले सत्ता हातमा लिएपछि सैनिक सत्ताको विरुद्धमा त्यहाँका नागरिक प्रदर्शनमा उत्रिए । नागरिकले गरेको आन्दोलनलाई दबाउन सैनिकले निकै ज्यादती गर्‍यो । त्यो ज्यादती त्यहाँका जनताका लागि असह्य नै थियो ।

यसै वर्षको सुरुवातमा सरकारले गिरफ्तार गरेका पाँचजना युवतीहरूले आफूहरू यौन दुर्व्यवहारमा परेको बताएका छन् ।

सेनाले सत्ता लिइसकेपछि त्यहाँ भएको विरोध प्रदर्शनमा महिलाको उल्लेख्य उपस्थिति थियो । विभिन्न रिपोर्टअनुसार आन्दोलन व्यापक र हिंसात्मक बन्दै गइरहेको समयमा सेनाले आन्दोलनमा सहभागीलाई रोक्नका लागि धम्क्याउने तथा मानसिक र शारीरिक यातना दिने गरेको थियो ।

८ डिसेम्बर सम्मको तथ्याङ्कअनुसार म्यानमारको सैन्य शासनको विरुद्धमा सडकमा आन्दोलन गर्ने १ हजार ३ सय १८ जनाको हत्या गरिएको थियो । गैर–नाफामूलक मानव अधिकारवादी सङ्गठन असिस्टेन्ट एसोसिएसन अफ पोलिटिकल प्रिजनर्स (एएपीपी) ले जनाएअनुसार यसरी मारिनेमध्ये ९३ जना महिला छन् । तीमध्ये ८ जनालाई हिरासतमा यातना दिएर मारिएको हो । चार जना त चरम यातना सहन नसकेर मृत्युवरण गर्न बाध्य भएका थिए । आन्दोलनका क्रममा १० हजार दुई सय जना गिरफ्तार गरिए । त्यसमा २ हजारभन्दा बढी महिला थिए ।

प्रजातान्त्रिक मुभमेन्टमै सरिक एन मोइ सेइ(नाम परिवर्तन गरिएको)लाई ६ महिना जेलमा राखियो । यसमध्ये सुरुवाती १० दिन उनले कुख्यात सोधपुछ कक्षमा बिताउनुपरेको थियो । त्यहाँ उनलाई यौन दुर्व्यवहार भएको थियो भने चरम यातना पनि दिइएको थियो । प्रदर्शनका लागि प्लाकार्ड बनाइरहेको स्थानबाट गिरफ्तार गरेर उनलाई भ्यानमा कोचेर प्रहरीले लगेको थियो ।

‘पूरै रात परिसकेको थियो । मेरा आँखामा पट्टी बाँधिएका थिए । छामछुम पार्दा म सामान चिन्न सक्थेँ । तर, केही पनि देख्न नसक्ने थिएँ ।

एउटा अँध्यारो कुनामा लगेर म माथिको यातना सुरु भएको थियो,’ गिरफ्तारी पछिको घटना सुनाउँदै उनले भनेकी छिन् ।

उनले गिरफ्तारीको कारण सोधे पनि कसैले यसको उत्तर नबताएको बताउँछिन् । लगातार बाँसका भाटाले उनीमाथि प्रहार मात्र गरिरहे ।

यत्तिकैमा एक जनाले कराउँदै भने, ‘ तँलाई थाहा छ हामी के गर्छौँ भन्ने कुरा? हामी यहीँ बलात्कार गरेर मारेर फ्याँक्ने छौ, यातना दिई रहेका एक जना अधिकारी कुर्लँदै थिए,’ उनले भनिन् ।

उनी भक्कानिएर आफूमाथि भएको घटना सुनाउन थालिन् । आफूले लगाएको टप्स फुकाल्दै दुर्व्यवहार शुरू गरेको पनि उनले रुँदै बताइन् ।

केही समयपछि उनको आँखा त खोलिएको थियो एउटा गार्ड रिभल्भरमा बन्दुक भर्दै थिए । यसपछि उनलाई आन्दोलनबारे सबै कुरा भन्नका लागि कर गरिए पनि उनी तयार भइनन् । केही समयपछि नै उनको मुखमा बन्दुक घुसारिएको थियो ।

यी दु:खान्त घटना उनकै वकिलले सञ्चार क्षेत्रमा ल्याएका हुन् । परन्तु सुरक्षाको दृष्टलाई ध्यानमा राख्दै ती महिलाको नाम गोप्य नै राखिएको छ । यसरी सोधपुछ कक्षमा चरम यातना दिइएका र यौन दुर्व्यवहार सहनुपरेका मध्ये उनी एक हुन् । यस्ता धेरै महिला रहेको म्यानमारको घटनालाई नियालिरहेका मानव अधिकारवादी सङ्गठनको ठहर छ ।

आन्दोलनमा सरिक नै नभएकाहरू पनि यसरी गिरफ्तारीमा परेको कुरा त्यहाँका एक वकिलले सुनाइन्। ‘मेरो पक्षको महिलाका बारे प्रहरीलाई भ्रम भएर गिरफ्तारीमा परिन् । उनले आफू आन्दोलनमा सरिक नभएको बताए पनि प्रहरीले रडले प्रहार गरेको थियो । उनले होस नगुमाएसम्म प्रहरीको यातना रोकिएको थिएन,’ पीडितको पक्षमा बहस गरिरहेकी वकिलले बताइन् ।

यसपछि ती महिलालाई अर्को सोधपुछ कक्षमा लगिएको थियो, जहाँ प्रहरीले एकरात सँगै बिताउन पाए मात्र छाडिदिने प्रस्ताव राखेका थिए । ती कानून व्यवसायी म्यानमारको कानून नै अपारदर्शी रहेको बताउँदै कठिन समयमा पीडितलाई न्याय दिलाउन आफूहरू असमर्थ भएकोमा दुख व्यक्त गर्छिन् ।

‘हामीले ती हिरासत, सोधपुछ कक्ष र यातनाको विरुद्धमा बोल्यौँ । तर, ती सबै वैध भएको र आदेश मुताबिक भएको ठहर भएको छ ।’

पीडितको पक्षमा वकालत गरिरहेका कानुन व्यवसायीहरूको गुनासो सुनिन थालेको छ । सोधपुछको क्रममा यातना पाएका अन्य धेरै महिलाहरू अहिले सञ्चार क्षेत्रमा आफ्नो पीडा प्रस्तुत गर्न थालेका छन् ।

एउटा गार्डले कपाल भुत्ल्याएर लुछाचुँडी गरेको दृश्य अहिले पनि एक महिला रुँदै बताउँछिन् । स्वा पेइताहरको एक सोधपुछ कक्षमा पनि धेरै युवतीलाई एकैपटक यसै किसिमको यातना दिइएको थियो ।

यसपछि अन्तर्राष्ट्रिय सञ्चार निकायले यस घटनाका प्रमाणहरू म्यानमारका सञ्चार सहायक मन्त्री मेजर जनरल जो मीन तुनसामु राखे पनि उनले यी सबै समाचार गलत र निराधार भएको दाबी गरे । उनले सोधपुछ कक्षमा यसरी यातना दिइएको कुरालाई अस्वीकार गरिरहे ।

गिरफ्तारपछि केही महिलाको पिटाइ खाएको तथा चोट नै चोटको दाग भएको अनुहार समेत सामाजिक सञ्जालमा देखिने गरेका छन् ।

सामाजिक सञ्जालमा तस्वीर भाइरल भएकी एक महिला अहिले पनि जेल जीवन बिताइरहेकी छिन् ।

यो गलत व्यवहार र यौन हिंसा कुनै एक स्थानमा भएको छैन । म्यानमारको प्रहरी र सेनाले ठाउँ ठाउँमा यस्ता गतिविधि गरिरहेका छन् ।

यांगुनका एक जेलभित्र आफूले बिताएको कष्टकर दिनहरू ५० बर्षिया लिन अहिले पनि बिर्सन सक्दिनन् । ४० दिनसम्म हिरासतमा उनलाई मात्र राखिएको थियो ।

त्यहाँ उनी मात्र हुन्थिन् । धेरैपटक रोगले च्यापेर उनी मृत्युको नजिक पुगेकी थिइन् । उपचारका कारण होइन, आफै ठीक भएकी थिइन् । पर कतै कोही रोएको जस्तो या कराएको जस्तो आवाज उनले बारम्बार सुन्ने गरेकी थिइन् । कसैलाई बेस्सरी कुटेपछि आएको आवाज उनले अर्को कोठामा बसेर सुनिरहेकी हुन्थिन् ।

एक दिन एक पुरुष अधिकृत महिला प्रहरीसहित त्यस सेलमा प्रवेश गरेको दिनको उनलाई अझ गाडा सम्झना छ । त्यसै दिन ती महिला छुट्न त छुटिन् तर, पुरुष प्रहरी अधिकृत भिडियो खिचिरहेका थिए । उनले यसका बारे रिपोर्ट गरे पनि यो व्यर्थ रहेको बताइन् ।

मानव अधिकारवादी रिसर्चर मेनी माउङ १ सय जनाभन्दा बढी अटाउन नसक्ने कोठामा ५ सय भन्दा बढी कोचेर राखिएको बताउँछन् । सबै सुत्न नमिलेर राति सुत्नका लागि समेत उनीहरूले पालो कुर्ने गरेका थिए । शौच गर्ने स्थानको समेत उनीहरूलाई समस्या परेको छ ।

स्वा पेइताहरको सोधपुछ कक्षको दु:खद अनुभव बटुलेकी ती महिलाले त्यस जेलको पनि एकपटक अनुभव गरेकी थिइन् । कतिसम्म खराब अवस्था थियो भने रजस्वला भएका थुप्रै महिलाले सात दिनपछि मात्र सानो टालोको टुक्रा पाएका थिए ।

मानव अधिकारवादी सङ्गठनको रोहबरमा गत अक्टोबरमा ५ हजार बन्दीलाई छाडिएको थियो । त्यसरी छुटेकी सोइ मे फेरि गिरफ्तारी हुने डरले त्रसित छिन् । ‘मलाई थाहा छ, म फेरि गिरफ्तार हुन सक्छु, यति मात्र होइन, म मर्न पनि सक्छु । तर म यी सवै मेरो देशको लागि गरिरहेको छु,’ उनले भनिन् ।

ती महिला आफू असुरक्षित हुनुका बावजूद यो अभियानमा सरिक भइरहने बताउँछिन् । यी म्यानमारका केही प्रतिनिधि महिला मात्र हुन् ।

यस्ता हजारौँ महिला हुन सक्छन्, जसले सोधपुछ कक्ष, हिरासत र जेलमा यस्तै यातना भोगिरहेका छन् । यो आन्दोलन र यातना दुवै कहिलेसम्म रहने? म्यानमारको राजनीति कोर्स कुन बाटोमा जाने भन्ने अझै अनिश्चित नै छ ।