आर्थिक

ग्लोबल आईएमई बैंकको कञ्चनपुरमा नयाँ शाखारहित बैंकिङ सेवा शुरु

By खबरहब

January 11, 2021

काठमाडौं– ग्लोबल आईएमई बैंकले कञ्चनपुरको कलुवापुर बजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

यस शाखारहित बैंकिङ सेवा सञ्‍चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २४४ पुगेको जनाइएको छ ।

उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन कलुवापुर बजार व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर गैराल तथा बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्दप्रसाद भट्टले संयुक्त रुपमा गरे । उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधि गंगाराम रानालाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानिय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिनेलगायत सेवा लिन सकिने बैंकले जनाएको छ ।