प्रतिकात्मक तस्वीर

इनसाइट/स्पेशल

वसन्तकालीन पहिलो हिमाल आरोहण अनुमति प्रदान

By खबरहब

March 11, 2021

काठमाडौँ— पर्यटन विभागले अबको वसन्तकालीन हिमाल आरोहणका लागि पहिलो आरोहण अनुमति प्रदान गरेको छ ।

खुम्बु क्षेत्रमा पर्ने ७ हजार ८ सय ६४ मिटर अग्लो नुप्से हिमालका लागि मंगलबार पहिलो आरोहण अनुमति जारी गरेको हो ।

४ जना क्यानेडियन नागरिकहरुको समूहलाई विभागले चैतदेखि सुरु हुने वसन्तकालीन सिजनमा आरोहण गर्न अनुमति दिएको विभागले जनाएको छ ।

‘अबको वसन्तकालीन हिमाल आरोहण अन्तर्गत यो पहिलो अनुमति हो,’ विभागकी निर्देशक मिरा आचार्यले भनिन् । विभागले अनुमतिपत्र जारी गरेपछि उनीहरुसहित नेपाली शेर्पाहरुको समूह हिमाल आरोहणका लागि बुधबार लुक्लातर्फ लागेको छ ।

विभागका अनुसार यी विदेशी नागरिकहरुको समूह नेपालले कारोना महामारीमा बनाएको नयाँ नियम पालना गर्ने पहिलो पर्वतारोही टोली भएको छ । आरोहण अनुमति लिनुअघि यी क्यानेडियन नागरिक ठमेलस्थित मलबेरी होटलमा १५ दिन क्वारेन्टाइन बसेको आरोहण व्यवस्थापक एवं एसेन्ट हिमालयजका प्रबन्ध निर्देशक लाक्पा दोर्जी शेर्पाले जानकारी दिए ।

उनका अनुसार कोभिडपछि जारी भएको नियम अनुसार उनीहरुले कोभिड जाँच गरेर पीसीआर नेगेटिभ भएको प्रमाण पनि बुझाउनु परेको थियो । त्यस्तै, सरकारले लागू गरेको ५ हजार डलर बराबरको बिमा पनि उनीहरुले गरेका छन् । यसअघि कोरोना बिमा, होटल क्वारेन्टाइन, पीसीआर जाँच, अन–अराइभल भिसाका लागि पूर्व अनुमति आदि नियम थिएनन् ।