समाचार

धर्नामा रहेका वकिल र सुरक्षाकर्मीबीच सर्वोच्च परिसरमा धकेलाधकेल

By खबरहब

November 11, 2021

काठमाडौँ – सर्वोच्च अदालत परिसरमा धर्ना दिइरहेका नेपाल बार एसोसिएसनका वकिल र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका वकिहरुले अदालतभित्रै आन्दोलन गर्न पाउनुपर्ने माग गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सोही क्रममा वकिल र प्रहरीबीच धकेलाधकेल भएको हो ।

विरोध प्रदर्शनमा उत्रिएका वकिलले यसअघि नेपाल बार एसोसिएसनमा सञ्चालन गर्ने कोणसभा आज सर्वोच्च अदालत परिसरमा सञ्चालन गर्ने तयारी गरेका थिए ।

वकिलको कोणसभा सर्वोच्च परिसरमा नगर्न प्रहरीले ध्यानाकर्षण गराएपछि धकेलाधकेल भएको हो । सर्वोच्च परिसरमा ५०/६० को संख्यामा वकिल भेला भएका थिए भने १५ जना सुरक्षाकर्मी परिचालित छन् ।

जबराको राजीनामाको माग गर्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको बारले बिहान १० बजेदेखि कालोपट्टी बाँधेर धर्ना दिइरहेको छ ।