राजनीति

अदालत परिसरमा वकिल-प्रहरी झडप, बार महासचिवसहित ६ वकिल घाइते

By मिलन दाहाल

November 11, 2021

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच झडप भएको छ ।

झडपकका क्रममा बार महासचिव लिलामणि पौडेलसहित ६ वकिल घाइते भएका छन् ।

महासचिव पौडेलसहित पूर्वउपध्यक्ष कुमार शर्मा आचार्य, बार केन्द्रीय सदस्य प्रकाश महर्जन, पूर्वकेन्द्रीय सदस्य रमनकुमार कर्ण, उच्च अदालत पाटन बार सदस्य मुकुन्द भट्टराई र रक्षा बस्याल सामान्य घाइते भएको नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले जानकारी दिए ।

प्रधानन्यायाधीश जबराको राजीनामा मागेर सर्वोच्च अदालतकै १९ जना न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिस्कार गर्दै आएका छन् भने नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ ।

सोही क्रममा बिहीबार धर्नामा रहेका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको हो । आन्दोनरत कानुन व्यवसायी सर्वोच्च अदालततर्फ अघि बढेपछि रोक्न खोज्दा प्रहरी र अधिवक्ताबीच घम्साघम्सी परेको हो ।

कार्यपालिकासँग भागबण्डा खोजेकोलगायतको आरोप लगाउँदै सर्वोच्च अदालतकै १९ जना न्यायाधीश र बार आन्दोलनमा उत्रिएका हुन् ।

अहिले सर्वोच्च परिसरमा वकिलहरूले प्रधानन्यायाधीशको राजीनामा माग्दै नाराबाजी गरिरहेका छन्।

‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे’, चोलेन्द्रका मतियार होसियार, लगायतका नारा लगाउँदै निरन्तर आधा घण्टादेखि वकिलको प्रदर्शन चलिरहेको छ।