किर्ते कागजात बनाएर लाखौँ ठग्ने भारतीय नागरिक पक्राउ

By खबरहब

November 11, 2021

काठमाडौँ– किर्ते कागजात तथा पहिचान बदलेर ठगी धन्दा चलाउने एकजना भारतीय नागरिक काठमाडौँबाट पक्राउ परेका छन् । ठगीको आरोपमा महानगरीय अपराध महाशाखाले भारतको तामिलनाडु राज्यस्थित चेन्नई घर भई काठमाडौँमा बस्दै आएका ४४ वर्षीय शिवम विरुमुथु चेटियार पक्राउ गरेको हो ।

चेटियारले मणिपाल अस्पताल खरिद गर्ने भारतीय सेयरहोल्डरहरुसँग सम्झौता गर्न लागेको भन्दै किर्ते कागजात देखाएर विभिन्न्न व्यक्तिलाई ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ ।

उनले नेपाल सरकारका उच्च पदाधिकारीसँगसमेत राम्रो सम्बन्ध रहेको देखाउँदै केही व्यक्तिलाई प्रलोभनमा पारेर उनीहरुको जमिनको लालपूर्जा प्रयोग गर्न खोजेको प्रहरीले जनाएको छ । ती लालपूर्जाबाट उनले बैंकबाट ऋण लिने तयारीसमेत गरेको बताइएको छ ।

उनले ठगीका लागि आफू रेडक्रस सोसाइटी आइसीआरसीको डाईरेक्टर हुँ भन्दै नक्कली परिचय पत्र देखाएकोसमेत प्रहरीले जनाएको छ । उनले विभिन्न नेपाली नागरिकको नागरिकता लिएर त्यसबाट बैंक खातासमेत सञ्चालन गरेको पाइएको प्रहरीले जनाएको छ ।