देश/प्रदेश

दशैँलाई लक्षित गरी खुल्न थाले ग्रामीण सडक

By खबरहब

October 12, 2021

बागलुङ- बागलुङका स्थानीय तहले बर्खाको समयमा अवरुद्ध भएका ग्रामीण सडक खुलाउन थालेका छन् । दशैँ मनाउन गाउँ फर्कने नागरिकको सहज यात्राका लागि स्थानीय तहले सडक मर्मत गर्न थालेका हुन् ।

वर्षाले अवरुद्ध भएका ग्रामीणमा नियमित यातायातका साधन सञ्चालन गर्ने गरी मर्मत भइरहेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । सबै वडामा पुग्ने सडक अहिले सञ्चालनमा आएका छन् ।

निसीखोला गाउँपालिकाले पनि चाडपर्व मान्न गाउँ आउने नागरिकलाई सहज बनाउने उद्देश्यले अवरुद्ध सडक खुलाउन थालिएको छ। अवरुद्ध सडक खुलाउने काम सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वलाल शाक्यले जानकारी दिए ।

ढोरपाटन नगरपालिकाले सबै ग्रामीण सडकको अवरोद हटाएको जनाएको छ । बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले चाडबाडलाई लक्षित गरी सडक खुलाउने काम भइरहेको जानकारी दिए ।

अवरुद्ध भएका ग्रामीण सडकसँगै मध्यपहाडी लोकमार्गमा पनि कुनै समस्या नभएको उनको भनाइ छ । ताराखोला गाउँपालिकाले पनि बाढी पहिरोका कारण अवरुद्ध बनेको सडक खुलाएको छ । गाउँपालिकामा पर्ने सहिद मार्गसहित पालिकाभित्र पर्ने सबै सडकमा गाडी गुड्ने गरी काम गरिरहेको अध्यक्ष प्रकाश घर्तीमगरले बताए ।

गलकोट नगरपालिका, बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बरेङ गाउँपालिकाले पनि चाडबाड नजिकिएसँगै ग्रामीण सडक खुलाउन थालेका छन् ।

मध्यपहाडी लोकमार्गमा समस्या रहेका क्षेत्रमा मर्मत थालिएको छ । अवरुद्ध रहेको कालिगण्डकी कोरिडोरको बागलुङ खण्ड सञ्चालनमा आएको छ । ‘दशैँमा घर जानेबेला बल्ल बाटो खुल्यो,’ जैमिनी नगरपालिका–७ का शिक्षक राजेन्द्र शर्माले भने ‘करिडोर चलेपछि जेठयता पहिलो पटक घर जाँदै छु ।’

ग्रामीण सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका थिए । वर्षा केही कम हुन थालेकाले अब ठूलो समस्या नआउने जैमिनी नगरपालिकाका प्रमुख ईन्द्रराज पौडेलले बताए । काठेखोला गाउँपालिकाले आफ्नै डोजर प्रयोग गरेर आठवटै वडाका मुख्य सडकको अवरोध हटाएको अध्यक्ष अमरबहादुर थापाले बताए ।