फाइल फोटो

राजनीति

बारको आन्दोलनमा हस्तक्षेप नगर्न प्रधानमन्त्रीको निर्देशन

By खबरहब

November 12, 2021

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै भएको नेपाल बार असोसिएशनको आन्दोलनमा प्रहरी हस्तक्षेप नगर्न निर्देशन दिएका छन् ।

बार महासचिव लीलामणि पौडेलले प्रधानमन्त्री देउवाले गृहमन्त्रीमार्फत प्रहरी महानिरीक्षलाई कानुन व्यवसायीको आन्दोलनमा हस्तक्षेप र बल प्रयोग नगर्न निर्देशन दिएको भन्ने जानकारी आफूलाई आएको बताए ।

यस विषयमा न्याय, कानून तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले पहल गरेको पनि आफूले जानकारी पाएको पौडेलले बताए ।

पौडेलका अनुसार शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग नगर्ने प्रतिबद्धता सरकारबाट प्राप्त भएको छ । यसैगरी सर्वोच्च प्रशासनले बन्द गराएको मूल गेट खोल्न लगाउने आश्वासन पाएको पनि पौडेलले बताए ।

नेपाल बारले शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने गरी आन्दोलनको घोषण गरेको थियो । अदालतको मूल गेट बिहानैदेखि बन्द राखिएकाले आन्दोलनकारी कानून व्यवसायीहरू सडकमा जम्मा भएका छन् ।

आन्दोलनकारीलाई सम्बोधन गर्ने क्रममा महासचिव पौडेलले प्रधानन्यायाधीश जबरालाई चुनाव लडेर प्रधानमन्त्री र राष्ट्रपति बन्न चुनौती दिए ।