समाचार

सर्वोच्च परिसरका सुरक्षाकर्मी हटाइए

By खबरहब

November 12, 2021

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग्दै भएको नेपाल बार एसोसिएसनको आन्दोलन भएको क्षेत्रमा परिचालित सुरक्षाकर्मी हटाइएको छ ।

नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले दिएको जानकारी अनुसार गृहमन्त्री बालकृष्ण खाँणलाई सर्वोच्च परिसरमा खटाइएका सुरक्षाकर्मी हटाउन आग्रह गरेपछि त्यहाँ परिचालित सुरक्षाकर्मी हटाइएको हो ।

पौडेलले भने, ‘मैले गृहमन्त्री बालकृष्ण खाँणलाई फोन गरेर यहाँ बल प्रयोग नगर्न र यहाँ भएका सुरक्षाकर्मी हटाउन आग्रह गरेको थिएँ । सोही आग्रह बमोजिम यहाँका सुरक्षाकर्मी हटाइएका छन् ।’

यसअघि नेपाल बारको आन्दोलनमा हस्तक्षेप नगर्न प्रहरीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएको दाबी गरिएको थिए ।

प्रधानमन्त्री देउवाबाट गृहमन्त्री र प्रहरी महानिरीक्षलाई कानुन व्यवसायीको आन्दोलनमा हस्तक्षेप र बल प्रयोग नगर्न निर्देशन आएको बार महासचिव लिलामणि पौडेलले बताएका थिए ।

पौडेलले शान्तिपूर्ण आन्दोलन गर्न र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग नहुने सरकारबाट प्रतिबद्धता आएको उनले बताए ।