बारले आज कुनै मुद्दामा बहस नगर्ने

By खबरहब

November 12, 2021

काठमाडौँ– कानुन व्यवसायीहरूले आज शुक्रबार कुनै पनि मुद्दामा बहस नगर्ने भएका छन्। बिहीबार नेपाल बार एसोसिएसनले गरेको धर्नामा प्रहरीले दमन गरेको विरोधमा आज उनीहरूले कुनै पनि मुद्दामाथि बहस नगर्ने निर्णय गरेका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि एक एकल र सात संयुक्तसहित आठ इजलास तोकेका छन् ।

हिजोको धर्नामा प्रहरीले बल प्रयोग गर्दा केही कानुन व्यवसायी घाइते भएको भन्दै नेपाल बारले हिजो नै शुक्रबार बन्दी प्रत्यक्षीकरणका रिटमा समेत बहस नगर्ने निर्णय गरेको थियो।

यसैगरी बारले आइतबार पनि प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भएको छ। त्यसका लागि सर्वोच्चको मूल गेटमा उनीहरूले प्रदर्शनलाई निरन्तरता दिने निर्णय गरेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए।