‘चोर बाटो’ प्रयोग नैतिक पतनको अर्को दृष्टान्त (भिडियोसहित)

By खबरहब

November 12, 2021

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले शुक्रबार नेपाल बार असोसिएशनको धर्ना छलेर सर्वोच्च अदालत प्रवेश गर्न ‘चोर बाटो’ प्रयोग गरे । चोर बाटोबाट पनि उनी कार्यालय समयभन्दा करिब एक घण्टा ढिलो गरी ११ बज्नै लाग्दामात्र प्रवेश गरे ।

उनले सुरक्षाकर्मी अघिपछि लगाएर महान्यायाधिवक्ताको कार्यालयतर्फको गेट प्रयोग गरेका थिए ।

जबरालाई अदालत प्रवेशमा रोक लगाउने नेपाल बारको घोषणाअनुसार आन्दोलनकारी कानून व्यवसायीहरू बिहान साढे नौ बजे नै जम्मा हुन थालेका थिए । सर्वोच्च प्रशासनले मूल गेट बन्द गराएको थियो । आन्दोलनकारीहरू बाहिर सडकमै जम्मा भएका थिए । अदालत परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबैतिरबाट ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित थिए ।

प्रधानन्यायाधीश जबराले नेपाल बारको अन्दोलन, सहकर्मी न्यायाधीशहरूबाट भएको बहिष्कार र आफ्ना पूर्ववर्तीहरूको सुझाब बेवास्ता गर्दै राजीनामा नदिने अडान लिएका छन् ।

न्यायपालिकाको सर्वोच्च नेतृत्वमा रहेका जबराले आफूलाई सहयोग गर्न सहकर्मी न्यायाधीशहरूलाई सहमत गराउन सकेका छैनन् । नेपाल बारसँग कुनै प्रकारले संवाद गर्न सकेका छैनन् ।

बन्दी प्रत्यक्षीकरणका मुद्दा हेरिरहेका न्यायाधीशहरूले अझ कठोर कदम चाल्ने भएका छन् । जबराले राजीनामा गर्न सुझाब दिने पूर्ववर्तीहरूबारे व्यक्तिगत टिप्पणी गरेर आफूलाई चोखो देखाउने प्रयास गरेका छन् । जबराले अदालतको परिपूरक निकाय मानिने बार र सहकर्मी न्यायाधीशहरूलाई हठले गलाउने नीति लिएको देखिएको छ ।

उनका पक्षका केही कानून व्यवसायीले आन्दोलनबाट प्रधानन्यायाधीशलाई राजीनामा गराउँदा अदालतको विश्वसनीयता र निष्पक्षता समाप्त हुने धारणा राख्ने गरेका छन् । यस्तो दबाबमा प्रधानन्यायाधीशले राजीनामा गर्दा भविष्यमा यस्तै दबाब दिने विकृति बढ्ने उनीहरूको तर्क छ ।

आन्दोलनकारी कानून व्यवसायीहरू भने त्यस्तो धारणा र तर्कसँग सहमत छैनन् ।

नेपाल बारका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता हरिहर दाहालले कानून व्यवसायीले न्यायाधीशको राजीनामा माग्नु र न्यायाधीशले राजीनामा दिनु असंवैधानिक नहुने बताए ।

दाहालले प्रधानन्यायाधीश जबराले अदालतको गरिमा, निष्पक्षता र विश्वसनीयता समाप्त पारेको बताए ।

खबरहबसँग कुरा गर्दै उनले भने, ‘सम्मानजनक बहिर्गमन भनेकै राजीनामा हो, संविधानमा प्रधानन्यायाधीशले राजीनामा गर्ने व्यवस्था छ । अदालतको नेतृत्व गर्न नसकेपछि र अदालतलाई विकृत बनाएपछि राजीनामा माग्नु परेको हो ।’

दाहालले नेपाल बारले न्यायको स्वच्छताका लागि आवाज उठाएको र यसबाहेक अर्को स्वार्थ नरहेको बताए । उनले प्रधानन्यायाधीश जबराले पदमा रहेर धेरै असंवैधानिक काम गरेको र आफ्ना केही सहकर्मी न्यायाधीशहरूलाई अपमानजनक तरिकाले हटएको आरोप लगाए ।

दाहालले जबराको राजीनामा मागेर भइरहेको आन्दोलनबारे राजनीतिक दलहरू पनि गम्भीर देखिन थालेको आफूले पाएको बताए । उनले यस विषयमा दलहरू चाँडै बोल्ने अपेक्षा पनि गरेका छन् ।

उनले जबराले राजीनामा पनि नगर्ने र राजनीतिक दलहरू पनि नबोल्ने हो भने दलहरूकै विरुद्ध आन्दोलन हुने चेतावनी पनि दिए ।

अर्का वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मूल ढोका थुन्न लगाएर ‘चोर बाटो’ प्रयोग गर्ने प्रधानन्यायाधीशले अदालतको नेतृत्व गर्न नसक्ने र नैतिक अधिकार पनि नरहने बताए ।

खबरहबसँग कुरा गर्दै उनले भने, ‘उहाँ (जबरा) त मूल गेट थुन्न लगाएर, प्रहरी प्रयोग गरेर चोरबाटोबाट अदालत पस्नुभयो । उहाँ नैतिकरूपमा पराजित भइसक्नुभएको छ ।’

त्रिपाठीले नेपालको अदालत हाल इतिहासकै सबैभन्दा संकटग्रत र असाधारण अवस्थामा रहेको बताए । उनले भने, ‘सहकर्मी न्यायाधीशहरू उहाँ (जबरा) को नेतृत्व मान्न तयार छैनन् । सबै वकिलहरू आन्दोलनमा छन्, उहाँको नेतृत्व अस्वीकार गरेका छन् । पूर्वप्रधानन्यायाधीशहरूले राजीनामा दिन आग्रह गरेका छन् । उहाँ नैतिकरूपमा पराजित हुनुभएको छ ।’

त्रिपाठीले अदालतमा उत्पन्न असाधारण परिस्थितिमा प्रधानन्यायाधीशको राजीनामा मागेर आन्दोलन गर्नुपरेको बताए । उनले दबाबबाट राजीनामा गर्दा भविष्यमा पनि यस्तै माग हुन्छ र कुनै पनि प्रधानन्यायाधीशले काम गर्न सक्दैन भन्ने तर्क खण्डन गरे ।

उनले भने, ‘प्रधानन्यायाधीश सबैतिरबाट बहिस्कृत हुनुभएको छ, यसरी बहिष्कृत व्यक्तिले अदालतको नेतृत्व गर्न सक्दैन । भविष्यमा पनि यस्तै हुन्छ भन्नु दोषीलाई चोख्याउन खोज्ने चालबाजीमात्रै हो ।’

त्रिपाठीले सडकबाट राजीनामा मागेको भन्ने आरोप पनि अस्वीकार गरे । उनका अनुसार वकिलहरू सडकमा गएका छैनन्, आफ्नै परिसरबाट प्रधानन्यायाधीशको राजीनामा मागिरहेका छन् ।

उनले भने, ‘बार अदालतकै अङ्ग हो, वकिलहरू अदालतकै अभिन्न अङ्ग हुन् । वकिल र वकालतबिनाको अदालत हुँदैन । न्यायाधीशहरू अदालतकै हुन्, भूतपूर्व न्यायाधीशहरू पनि अदालतकै अङ्ग हुन् । उहाँ (जबरा) को राजीनामा सडकबाट होइन, घरभित्रैबाट मागिएको हो ।’

त्रिपाठीले प्रधानन्यायाधीश जबराले न्यायको मन्दिरलाई अपवित्र बनाएको, न्यायलाई खरिदबिक्री र लेनदेनको साधन बनाएको आरोप लगाए । उनले भने, ‘फैसलाहरू विवादास्पद छन्, पैसाको चलखेल भयो । सेटिङ गरेर बिचौलियाले फैसला मिलाउँछ । वकिलको महत्व नै भएन । न्यायालय न्यायिक निकाय रहेन ।’

उनले प्रधानन्यायाधीश जबराले संवैधानिक मर्यादा खण्डित गरेको, इजलास बसाउन नसकेको, कानून व्यवसायीविरुद्ध प्रहरी परिचालन गरेको र भिजिलान्ते प्रयोग गरेर आक्रमण गराएको आरोप लगाए ।

त्रिपाठीले प्रधानन्यायाधीश जबराले न्यायको मूल्यमान्यता र न्यायपालिकाको मानमर्यादा ध्वस्त बनाएको आरोप लगाए । उनले भने, ‘अदालत नै नरहेको अवस्था भयो । अब चोलेन्द्रसहितको न्यायालय हुँदैन, उहाँले अविलम्ब बिदा लिनै पर्छ ।’

उनले अझै जबरा नै प्रधानन्यायाधीश रहने हो भने अदालत विघटनको प्रक्रियामा जाने चेतावनी दिए । प्रधानन्यायाधीशको राजीनामा माग्नु नेपाल बारको रहर नभएर बाध्यात्मक अवस्था भएको बताए ।

जबराले राजीनामा नगरेसम्म आन्दोलन जारी रहने र उनी पदमा कायम रहने गरी कुनै पनि सम्झौता नहुने नेपाल बारले जनाएको छ ।

जबराले चौतर्फी दबाब र आन्दोलनका बीच शुक्रबार पनि केही संयुक्त इजालासमा पेशीहरू तोकेका थिए तर सुनुवाइ भएन ।

जबराले आफू संविधानअनुसार आएको र संविधान अनुसार नै पदमुक्त हुने अडान राख्दै महाभियोगका लागि चुनौती दिएका छन् ।

महाभियोगबारे सत्ता गठबन्धन मौन रहेको छ । विपक्षी नेकपा एमालेका नेताहरूले जबराले मन्त्रिपरिषदका भाग खोजेको भन्ने कुरालाई प्रतिनिधिसभा पुनस्र्थापनाको सौदाबाजीका रूपमा व्याख्या गरेर उक्त संवैधानिक इजलासका पाँचै जनाले राजीनामा गर्नुपर्ने तर्क गरेका छन् ।

कानून व्यवासयीहरूले अध्यक्ष केपी शर्मा ओलीको उक्त तर्क गरेर जबरालाई काँधमा बोकेको अर्थमा लिएका छन् ।