राजनीति

वरिष्ठ अधिवक्ता थापा भन्छन् : प्रधानन्यायाधीशले  अदालतको बन्ध्याकरण गरिदिए (भिडियोसहित)

By खबरहब

November 12, 2021

काठमाडौँ– वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतको ‘बन्ध्याकरण’ गरेको आरोप लगाएका छन् । जबराले पैसाले अदालत बन्ध्याकरण गरेको थापाको आरोप छ ।

शुक्रबार बिहान प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने धर्नाका क्रममा बोल्दै थापाले उक्त आरोप लगाएका हुन् ।

थापाले जबराको बहिर्गमन अनिवार्य रहेको बताए । उनले भने, ‘प्रधानन्यायाधीशको बहिर्गमन जसरी पनि हुन्छ तर कुन प्रकारको भन्ने मात्र हो ।’

थापाले प्रश्न गरे, ‘मूल गेटबाट अदालत प्रवेश गर्न नसक्ने तपाईं पनि प्रधानन्यायाधीश हो ?

जबराले कुर्सी नछाडे उनको कार्यकालभरि आन्दोलन गर्ने चेतावनी पनि थापाले दिएका छन् ।

जबरा अदालत आउनुको कुनै औचित्य नरहेको थापालेबताए ।

नेपाल बार असोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले कानून व्यवसायीहरुलाई सडकमा आउन बाध्य पारेको बताए ।

उनले भने, ‘सर्वोच्च अदालत प्रवेश गर्ने बारको गेट बन्द गरिदिएपछि हामी सडकमा आउन बाध्य भयौँ ।’

आगामी सन्ततिका लागि न्यायालय चाहिन्छ भन्ने लाग्छ भने जबराले आजै राजीनामा गर्नुपर्ने उनले बताए ।

उनले जबराले बालुवाटार (सरकारी निवास) मा न्यायाधीशहरुलाई भेट्न नदिएको र बिचौलियालाई अवसर दिएको आरोप लगाए ।

अध्यक्ष श्रेष्ठले अब जबरालाई सर्वोच्च अदालतमा मात्र होइन, बालुवाटार (सरकारी निवास) प्रवेशमा पनि निषेध गर्ने चेतावनी दिए । बार भवनबाट सर्वोच्च अदालत छिर्ने गेट बन्द गर्ने अधिकार सर्वोच्च प्रशासनलाई नभएको उनले बताए ।

‘हामी सडकमा जाने सोचमा थिएनौँ,  गेट बन्द गरेर सडकमा पु¥याउने काम भएको छ,’ श्रेष्ठले चेतावनी दिए, ‘आइतबार यस्तो नहोस् ।’

नेपाल बारका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता हरिहर दाहालले कसैको भड्काउमा लागेर आन्दोलन बिथोल्ने प्रयास नगर्न चेतावनी दिए ।

ज्वारभाटाले न्यायालयको विकृति हट्छ भने त्यसमा पनि आफूहरु पछि नहट्ने दाहालले बताए । उनका अनुसार प्रधानन्यायाधीशको सम्मानजनक बहिर्गमन भनेको राजीनामा नै हो ।

दाहालले आन्दोलनको समय लम्बिँदै गए राजनीतिक दल पनि बोल्न बाध्य हुने र प्रधानन्यायाधीशलाई पदच्यूत गर्नुको विकल्प नरहने उनको बताए ।

नेपाल बारका पूर्वसचिव विजयप्रसाद मिश्रले न्यायालयको इतिहासमा प्रधानन्यायाधीशलाई रोक लगाउन सडकमा आउनुपरेको यो पहिलो घटना भएको बताए ।

उनले पनि चोर बाटो प्रयोग गरी सुरक्षाकर्मीको भरमा अदालत प्रवेश गर्ने व्यक्ति प्रधानन्यायाधीश रहन नसक्ने बताए ।

प्रधानन्यायाधीश पैसामा बिकेका कारण उनीविरुद्ध आन्दोलन गर्नुपरेको उनको मिश्रको भनाइ छ । उनले भने, ‘न्याय बिक्री गर्ने व्यक्तिलाई न्यायालयमा बस्ने कुनै अधिकार हुँदैन । यहाँ प्रधानन्यायाधीशका कारण न्यायालय र न्यायाधीशहरूको स्वाभिमानमा समाप्त भएको छ ।’

अर्का अधिवक्ता सुरेन्द्रकुमार महतोले जबराले न्यायालयको मर्यादा ध्वस्त बनाएको र उनकै कारण न्यायालयप्रतिको जनआस्थामा ह्रास आएको बताए ।

बुधारसम्म एक घण्टा धर्ना गरेर विरोध जनाइरहेका कानून व्यवसायीहरुले बिहीबार सर्वोच्च परिसरमै नाराजुलुससहित प्रधानन्यायाधीश जबराको राजीनामा मागेका थिए ।

शुक्रबार सर्वाेच्च अदालतमा छिर्न नदिन धर्ना बसेका कानून व्यवसायीहरुलाई छल्दै प्रधानन्यायाधीश जबरा अर्कै गेटबाट प्रवेश गरेका थिए ।

प्रधानन्यायाधीश जबराले आफू संविधानबमोजिम नियुक्त भएका कारण सोही अनुसार पदमुक्त हुने अडान लिएका छन् ।